आगामी चुनावमा एमाले नेता नेम्वाङसँग जनमुक्तिका पालुङ्वा भिड्ने « Yalambar Times
२८ माघ २०८१, सोमबार

आगामी चुनावमा एमाले नेता नेम्वाङसँग जनमुक्तिका पालुङ्वा भिड्ने


यलम्वर टाइम्स
२० श्रावण २०७९, शुक्रबार १२:५६

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पछिल्लो समय प्रदेश नं. १ को नामाकरणको विषय चलिरहेको भन्दै पहिचानको आधारमा किरात लिम्बूवान खम्बूवान नामाकरण हुनुपर्ने बताएका छन् ।

अध्यक्ष पालुङ्वाले लिम्बूवान किरात हुँदा पनि आपत्ती नहुने जोड दिँदै पार्टीले धनकुटाको भेडेटारमा किरात लिम्बूवान खम्बूवानको माग राखेर मूख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र दिएको जानकारी दिए ।

बिहीबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी उनले अहिले रहेका ७ वटा प्रदेश मध्ये ६ वटाको नामाकरण भए पनि पहिलेको विकास क्षेत्र जस्तै नामाकरण भएकोभन्दै चलिरहेको सभाबाट न्वारान गर्नेुपर्ने हो भने किँरात लिम्बूवान खम्बूवान राख्नु पर्ने बताएका हुन् ।

अहिले भएका ७ वटा प्रदेश मध्ये मधेस प्रदेश बाहेक कुनै पनि प्रदेशको नाम पहिचानको आधारमा नरहेको उनको भनाई छ । पालुङ्वाले पहिचानको आधारमा नाम राख्न सकिएन भने ठूला दल जनताको अगाडि नालायक ठहरिने आरोप लगाए ।

यस्तै उनले इलाम क्षेत्र नं. २ मा २० वर्षदेखि पटक–पटक चुनाव जितेका सुवासचन्द्र नेम्वाङ जीर्ण भइसकेको भन्दै आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् । गत निर्वाचनमा पनि नेम्वाङसँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन ।

पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजित भएर पनि पुनः त्यहि क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारको प्रश्नमा पालुङ्वाले धरानका मेयर हर्क साम्पाङको उदाहरण दिँदै पहिलो चुनावमा चार सय मत ल्याएका मेयर अहिले विजयी बनेको भन्दै आफ्नो पक्षमा मतदाता रहेको बताए ।

पालुङवाले अब जनताले चिनिसकेको र आफूलाई जिताउने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।