किरात राई पत्रकार संघ झापाको अध्यक्ष साम्पाङ, अग्रज पत्रकारहरुको सम्मानमा अक्षयकोष स्थापना गरिने « Yalambar Times
१७ मंसिर २०८१, सोमबार

किरात राई पत्रकार संघ झापाको अध्यक्ष साम्पाङ, अग्रज पत्रकारहरुको सम्मानमा अक्षयकोष स्थापना गरिने


यलम्वर टाइम्स
३१ भाद्र २०७९, शुक्रबार १२:३०

अर्जुनधारा । किरात राई पत्रकार संघ झापाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार किरात राई यायोक्खा अर्जुनधाराको भवनमा भएको अधिवेशनले अध्यक्षमा पुनः राजन सम्पाङ राई (अर्जुनधारा) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा रविकिरण वान्तावा राई (बिर्तामोड), सचिव सबिना राई (दमक), सहसचिव पवन चाम्लिङ राई (शिवसताक्षी) र कोषाध्यक्षमा भारती राई (बुद्धशान्ति) लाई निर्वाचित गरेको छ ।

त्यस्तै समितिको सदस्यहरुमा सोनिका राई (शिवसताक्षी), दीपसन राई (अर्जुनधारा), निरन राई (दमक) र सबिन राई (बिर्तामोड) रहेका छन् ।

अधिवेशनमा किरात राई पत्रकार संघ झापाले अग्रज राई पत्रकारहरुको सम्मानार्थ अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेको छ ।

पत्रकारिताको माध्यमबाट राई जातिको मुन्धुम, भाषा, कला, संस्कार संस्कृतिलाई उजागर गर्दै आएका झापाका अग्रज राई पत्रकारहरुको सम्मानका लागि उक्त कोष स्थापनाको घोषणा गरिएको संघका अध्यक्ष राजन साम्पाङले बताए ।

उनले संघले २ लाखको अक्षयकोष स्थापना गरि ‘किरात राई पत्रकार वर्ष उत्कृष्ट पुरस्कार’ वितरण गर्ने लक्ष्य रहेको सुनाए ।

संघले राई पत्रकारहरुको स्वास्थ्य बीमा, पत्रकारिता सम्बन्धि तालिमहरु पनि प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष साम्पाङले बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा संघकी केन्द्रीय सदस्य लीला राईले पाँच वटा मैन बत्ती बालेर कार्यक्रको उद्घाटन गर्दै झापाले राई पत्रकारहरुको सम्मानमा अक्षयकोष स्थापनाको घोषणा गर्नु प्रशंसनीय भएको बताइन् ।

कार्यक्रममा अग्रज पत्रकारद्वय दिपीन राई, रमेश समदर्शी राईले अक्षयकोषको स्थापना गरि अग्रजहरुलाई सम्मान गर्दै जानु आफैमा राम्रो भएको बताउँदै कार्य योजना, कार्य विधि बनाएर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा अग्रज पत्रकार दिपीन राईले अक्षयकोषका लागि रु. १० हजार प्रदान गर्ने घोषणा गरे ।

कोष स्थापनाको घोषणा लगत्तै कार्यक्रमका अतिथि तथा किरात राई यायोक्खा अर्जुनधाराका सदस्य विजय साम्पाङ राईले अक्षयकोषका लागि नगद रु. पाँच हजार प्रदान गरेका थिए ।

उनले राई कूलका पत्रकारहरुको जिम्मेवारी अन्य पत्रकारहरुको भन्दा फरक र पृथक भएको बताउँदै किरात राई जातिको मुन्धुम, भाषा, लिपी, संस्कारको संरक्षणमा महत्वपूर्ण भूमिका हुने हुँदा उहाँहरुको सम्मानमा सहयोग गरेको बताए ।

संघका अध्यक्ष राजन साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराका सल्लाहकार भरतसिंह राई, यायोक्खा सदस्य विजय साम्पाङ राई, लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य सेलिङ केसी, इन्द्रकुमार राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

संघका उपाध्यक्ष रविकिरण वान्तावा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सबिना साम्पाङले गरेकी थिइन् ।