झापा क्षेत्र नं. २ मा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा हुने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

झापा क्षेत्र नं. २ मा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा हुने


यलम्वर टाइम्स
२३ आश्विन २०७९, आईतवार १२:३५

अर्जुनधारा । गठबन्धन र एमाले बीचको प्रतिस्पर्धा झापा क्षेत्र नं. २ मा देखिएको छ ।

आईतबार मनोनय दर्ता गर्ने क्रममा गठबन्धन पक्ष र एमाले बीच कार्यकर्ताहरुको उत्तिकै बाक्लो उपस्थितिले प्रतिस्पर्धाको बाटो देखिएको हो ।

नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईका अनुसार गठबन्धन कुनै पनि हालतले पछि नपर्ने र विजयको विन्दूमा पुग्न खोजेको आजको उपस्थितिले शुभ संकेत गरेको बताएका छन् ।

उता एमालेका जिल्ला उपाध्यक्ष प्रेमबहादुर गिरीले उल्लासमय वातावरणमा उम्मेद्वारको नाम घोषणा गर्दै क्षेत्र नं. २ ले एमालेको विरासत थाम्ने निश्चित रहेको बताए ।

उम्मेद्वारको नाम घोषणा गर्दै मनोनयन दर्ता गर्न पुगेको एमाले गठबन्धनभन्दा केही समयपछि उम्मेद्वारहरुको मनोनयन दर्ता गराएका थिए ।

मनोनयन दर्ता गर्नुअघि गठबन्धनका उम्मेद्वार हरिकुमार रानाले क्षेत्र नं. २ को तमाम् समस्या आफ्नो आँखाको अगाडि झल्झली भएको हुँदा त्यसको समाधानको लागि गठबन्धन उम्मेद्वार जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताए ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि हरिकुमार राना रहेका छन् । उनी हिजैमात्र एमाले परित्याग गरि स्वतन्त्र रुपमा गठबन्धनबाट उम्मेद्वार उठेका हुन् ।

प्रदेश सभाका लागि झापा क्षेत्र नं. २ ‘क’ बाट पुराना कम्युनिष्ट पुष्प पोखरेल रहेका छन् भने ‘ख’ मा खगेन्द्र मैनाली रहेका छन् । मैनाली नेपाली कांग्रेसका युवा नेता हुन् ।

उता एमालेका उम्मेद्वार देवराज घिमिरेले जनताको तमाम् समस्या एमालेलेमात्र समाधान गर्ने बताउँदै जनतासँग आउने बताए ।

देवराज एमालेका निष्ठावान नेता हुन् भने क्षेत्र नं. २ ‘क’ का एकराज उप्रेती यसअघिका प्रदेश सांसद भइसकेका हुन् भने चिन्तन पाठक एमालेका पूर्व जिल्ला अध्यक्ष भएर काम गरेका छन् ।