आदिवासीका मुद्दामा उम्मेद्वारहरु एकजुट हुनेमा प्रतिवद्धता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

आदिवासीका मुद्दामा उम्मेद्वारहरु एकजुट हुनेमा प्रतिवद्धता


यलम्वर टाइम्स
१७ कार्तिक २०७९, बिहीबार ११:५४

काँकरभिट्टा । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले लोकतन्त्रलाई स्थायीत्व कायम गर्नु छ भने यहाँका आदिवासी जनजाति र भूमिपुत्रहरुको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।

आदिवासी जनजाति महासंघ झापाले उम्मेद्वारसँग काँकरभिट्टामा गरेको अन्तरक्रियामा उम्मेद्वार शर्माले वाक स्वतन्त्रतादेखि हरेक नेपालीको मौलिक सांस्कृतिक र पहिचान स्थापित गर्नसके मात्र लोकतन्त्र स्थायीत्व रहने बताए ।

काँकरभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेता शर्माले थुप्रै प्रश्नको जवाफ दिँदै राष्ट्र सक्षम रहे नेपाल सक्षम रहनेमा जोड दिँदै झापाको दमकमा रहेको आदिवासी रंगशालालाई स्थायीत्व कायम गर्न तत्पर रहेको बताए ।

अन्तरक्रियामा एमालेका उम्मेद्वार अग्नी खरेलले समग्र जातिको विकास गर्न नेकपा एमालेले दृढ संकल्प लिएको बताए ।

उनले अगाडि भने, ‘२०६२÷०६३ को जनआन्दोलनको जगलाई टेकेर संविधान बने पनि थुप्रै अधिकारहरु सुनिश्चित गर्नुपर्ने भएको हुँदा नेकपा एमाले तयार रहेको छ ।’

कार्यक्रममा संघीय समाजवादीका उम्मेद्वार राजा थापाले पहिचानवादी शक्तिहरु एक हुनुपर्ने बताउँदै आदिवासी जनजातिहरुको हक सुनिश्चितताको लागि आफू तयार रहेको बताए ।

क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेद्वार रविन कोइरालाले स्थानीय स्तरबाट उठेका थुप्रै मुद्दा हल गर्न आफू तयार रहेको बताए ।

लोकतान्त्रिक बाम गठबन्धनका गोपाल तामाङले संघ सरकारले देख्न नसकेका कामहरु आफू निर्वाचित भए पूरा गर्ने वाचा राखे ।

अर्का उम्मेद्वार श्यामबीर लिम्बूले पहिचानको वकालत गर्दै आएको आफ्नो पार्टी माओवादीले आदिवासीका थुप्रा मुद्दाहरुलाई समाधान गर्न लागि परेको हुँदा आफू एक इन्च तल नहट्ने बताए ।

संघीय समाजवादीबाट प्रदेश ‘ख’ का उम्मेद्वार ओमप्रकाश खापुङले क्षेत्र नं. १ मा आदिवासीका मुद्दा अनगिन्ती रहेको छ, आदिवासीका समाधीदेखि लिएर शिक्षा, स्वास्थ्यको उत्तिकै समस्या भएको हुँदा त्यसको दीर्घकालिन समाधानका लागि आफू तयारी रहेको बताए ।

महासंघ अध्यक्ष पाण्डपलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण फोनिजका कमन देवानले गरेका थिए ।

महासंघका उपाध्यक्ष केवलराम राईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा १ नं. क्षेत्र भरिका आदिवासी जनजाति तथा अधिकारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यसरी नै जनजाति महासंघले कात्र्तिक १९ गते झापा क्षेत्र नं. २ मा, उम्मेद्वारहरुसँग अन्तरक्रिया गर्ने भएको अध्यक्ष चौधरीले जानकारी दिए ।