तीन प्रस्ताव पेश गर्दै अर्जुनधाराको १२ औं अधिवेशन स्थगित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

तीन प्रस्ताव पेश गर्दै अर्जुनधाराको १२ औं अधिवेशन स्थगित


यलम्वर टाइम्स
१ फाल्गुन २०७९, सोमबार ०७:५६

अर्जुनधारा । आइतबार अर्जुनधारा नगरपालिकाले तीन वटा प्रस्ताव पेश गर्दै १२ औं नियमित नगर अधिवेशन मंगलबारसम्मका लागि स्थगित गरेको छ ।

नगरपालिकाको सभाहलमा आयोजित नियमिति सभा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको थियो ।

सभामा आर्थिक वर्ष ०७८/०७९को यथार्थ आय र व्ययको विवरण, चालु आर्थिक वर्ष ०७९/०८०को संशोधित आय र व्ययको विवरण, स्वीकृत कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव, आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र नगर कार्यपालिकाले छनौट गरेको साझेदारी योजना तथा पेभर्स सम्बन्धी योजना अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

उपप्रमुख खड्गमाया पराजुलीले गत आर्थिक वर्ष ०७८/०७९को यथार्थ आय र व्ययको विवरण, चालु आर्थिक वर्ष ०७९/०८०को संशोधित आय र व्ययको विवरण, स्वीकृत कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव, कार्यपालिका सदस्य हरिशचन्द्र बाँस्तोलाले आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र अर्का कार्यपालिका सदस्य भूपेन्द्र न्यौपानेले नगर कार्यपालिकाले छनौट गरेको साझेदारी योजना तथा पेभर्स सम्बन्धी योजना अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए ।

अधिवेशन सुरु भएको २५ मिनेटमै सभा समापन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सञ्चालन गरेको सभामा नगर प्रमुख गोम्देनले ६ मिनेटभित्र कार्यक्रमको गतिविधि बताउँदै उपप्रमुख पराजुलीले बजेटका विषयमा १० मिनेट लिएका थिए ।

वडा नं. ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले ४ मिनेट र वडा नं. १० का अध्यक्ष भूपेन्द्र न्यौपानेले ५ मिनेट बोलेका थिए ।

निर्वाचित भएर पहिलो पटक नियमित अधिवेशनमा सहभागि वडा सदस्यहरु कार्यक्रम सञ्चालन भएको केही बेरमै सम्पन्न भएको नगर प्रमुख गोम्देनले जानकारी गराउँदा अचम्मित मान्दै सभा यसरी सम्पन्न हुँदो रहेछ भनी प्रतिक्रिया दिँदै फर्केका थिए ।

अधिवेशनको अर्को बैठक यही माघ ३ गते बुधबार दिँउसो १२ बजे बस्ने जनाइएको छ ।