नगर प्रमुख गोम्दनबाट १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नगर प्रमुख गोम्दनबाट १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन


यलम्वर टाइम्स
३ फाल्गुन २०७९, बुधबार ११:५४

अर्जुनधारा । अर्जुनधारामा आयोजित १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर मावि खेल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख बलदेवसिंह गोम्देनले नगरलाई खेलकुदका माध्यमबाट चिनाउनका लागि यस्ता खाले प्रतियोगिताको अहम् भूमिका हुने बताएका छन् ।

बुधबार अर्जुनधारा खेल मैदानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गोम्देनले राजनीतिक खेलभन्दा धेरै महत्वपूर्ण रहेको खेलकुदको छुट्टै इज्जत रहेको बताए ।

संसारमा धेरै राष्ट्रपतिहरु भए होलान्, सबैको नाम चर्चामा छैन । तर, खेल क्षेत्रका चर्चित खेलाडीहरु यो धर्तीमा नरहेपनि नाम आइरहने भएको हुँदा खेलको महत्व रहेको बताए ।

उनले खेलको महत्व नगरले बुझेको हुँदा नगरपालिकाबाट हुने सहयोगमा कञ्जुस्याँईं नहुने बताउँदै खेलाडीको हौसलाका लागि नगरपालिका सधै तयार रहेको बताए ।

नगर शिक्षा प्रमुख तोयानाथ रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा कोइराला भुर्तेल लगायत रहेका थिए भने अर्जुनधारा–११ वडाध्यक्ष खगेन्द्र इङ्नाम, ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, ५ का वडाध्यक्ष गीताराज खड्का, ७ का वडाध्यक्ष गोविन्द खतिवडा, शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी, प्याव्सन अर्जुनधाराका रुद्र सिटौला लगायत अर्जुनधारा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका प्रअहरुको उपस्थिति रहेको मूल कार्यक्रम संयोजक रुपक दाहालले बताए ।

कार्यक्रमको उद्घाटन अघि मार्चपास, नृत्यहरु प्रस्तुत गरिएको थियो भने एथलेटिक्सतर्फ अर्जुनधारा खेल मैदानमा, भलिबल शनिश्चरे माविको प्राङ्गणमा भएको उद्घोषक संयोजक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।