कोशी प्रदेश नाम नसच्याए गाउँबाट जनता उतार्ने चेतावनी « Yalambar Times
२७ असार २०८२, शुक्रबार

कोशी प्रदेश नाम नसच्याए गाउँबाट जनता उतार्ने चेतावनी


यलम्वर टाइम्स
१७ चैत्र २०७९, शुक्रबार ११:२८

अर्जुनधारा । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले प्रदेश नं. १ मा कोशी प्रदेश नाम आउनु एक जातीय हैकमवादको उपज भएको बताएका छन् ।

आदिवासी जनजाति महासंघ अर्जुनधाराको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कोशी प्रदेश नामलाई नसच्याएसम्म नश्लीयवाद विरुद्ध गाउँ–गाउँबाट आन्दोलन उठाउने चेतावनी दिए ।

प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समितिका झापा संयोजक समेत रहेका चौधरीले आदिवासी जनजातिको अधिकारको रक्षाका लागि जस्तोसुकै युद्धमा जान पनि तयार रहेको बताए ।

चुम्लुङका पूर्व केन्द्रीय सदस्य तथा महिला नेतृ मीना पन्धाकले सभ्यतालाई कुल्चिएर आफ्नो धर्म संस्कार जय जय भन्ने नेताबाट आदिवासीको मुक्ति नहुने बताउँदै कोशी प्रदेश नाम फेर्न सबै एक जुट हुनुपर्ने बताए ।

महासंघ अर्जुनधाराका अध्यक्ष जगत राना मगरको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष कर्ण तामाङले गरेका थिए भने विभिन्न विधाका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन भने भिम श्रेष्ठले गरेका थिए ।