पोटाउँदै गरेको धान मर्न थालेपछि अर्जुनधाराका किसान चिन्तित « Yalambar Times
७ बैशाख २०८२, आईतवार

पोटाउँदै गरेको धान मर्न थालेपछि अर्जुनधाराका किसान चिन्तित


यलम्वर टाइम्स
१७ भाद्र २०८०, आईतवार ०७:२८

खुदुनाबारी । अर्जुनधारा वडा नम्वर ३ का किसानहरुले लगाएको धान बारीमा गवारो रोग लागेपछि यति बेला चिन्तित बनेका छन् ।

यस वडाको करिब १० जना किसानहरुले लगाएको २० विगाह धान खेतीमा गवारो रोग देखिएको हो ।

रोगले धान पहेंलो भएपछि अब कसरी बाँचिने हो भनी चिन्ता छाएको पीडित किसान दलमान कामीले दुखेसो पोखे ।

दलमानले लगाएको धान पुरै पहेंलो भएर गएको वडा सचिव खगेन्द्र लिङ्देनले यलम्वर टाइम्सलाई बताए ।

वडामा जानकारी भए अनुसार सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ इङ्नाम, दलमान कामी, प्रकाश जगुरेल, स्वर्णकुमार राई, होम पाण्डे, होम दुलाल, नरेन्द्र फेगुवा, अमा लिम्बूले लगाएको धान बाली गवारो किराका कारण बिग्रिएर गएको बताएका छन् ।

आफ्नो वडामा किसान पीडित भएको खबर आएपछि कृषि शाखाबाट गवारो मार्ने किटनासक औषधी ल्याएर वितरण गरेको वडा सदस्य नारायण पराजुलीे बताए ।

अर्जुनधाराका किसानहरु गवारो रोगबाट पीडित भएको विषयमा कृषि शाखा प्रमुख एन्जीला विडारीले वडा नं. ३ मा मात्र होइन सबै वडामा फौजी किरा, गवारो रोगले हैरान पारेको हुँदा शाखाबाट रोग नियन्त्रणका लागि किटनासक झोल औषधि वितरण गरिदै आएको बताइन् ।

अत्याधिक पानी परेर घाम लागेपछि जमेको पानी तातिएर धानका बोटमा फौजी किरा र गवारो जस्तो रोग लागेको शाखा प्रमुख विडारीले प्रतिक्रिया दिइन् ।