[दिपीन राई]
हैन ! हेड सरले दिएको सुझाव त ठीक हो कि क्यो हो ? पश्चिमको बाटो हुँदै प्रणामी टोल भन्ने ठाउँमा आउँदा सयौं मानिसहरु माइक घन्काएर श्री कृष्ण भगवान की ! जय, भन्दै कराइरहेका, रमाएका र चिच्याएका गजाधरले सुन्छन् । मन्दिर नजिक आइपुग्दा रातको ९ बजेको समय हुन्छ । उनी त्यही उभिन्छन् ।
हाईहाई र हुईहुई गर्दै १२ बजेको हुनुपर्छ भगवान जन्मनु भयो भन्दै हर्षले विभोर भएको हाँसोको आवाज सबैमा गुञ्जीन्छ । पुनः श्री कृष्ण भगवान कि ! जय भन्छन् । त्यो सबै आवाज गजाधरको कानमा पर्छ । मानिसहरु भगवान जन्मीयो भनेर यतिसारो रमाउँछन, नाच्छन्, रातभरी जागराम बस्छन् । आखेरी भगवान जन्मेर मानवलाई कस्तो सद्बुद्धि दिएका होलान्, कल्पना गर्छन् ।
प्रणामी टोलमा रहेको कृष्ण मन्दिरमा करिब बिहानको चार बजेको हुनुपर्छ । रातभरी बसेका प्रणामी सम्प्रदायका मनुवाहरु राति १२ बजे जन्मीनु भएका कृष्णलाई डोलीमा बोकेर भजन गाउँदै शनिश्चरेतर्फ लाग्छन् । गजाधर पनि पछिपछि लाग्छ । बिहानको ५ बजेको समय हुनुपर्छ, एक हातमा लौरो टेकेर करिब ८० वर्षिय पाका मानिस पूर्वतर्फ आउँदै गरेको गजाधरले देख्छ । ती मानिस दायाँबायाँ नहेरी एकदम पूर्व आइरहेका हुन्छन् ।
गजाधर भने एक ठाउँमा उभिएर उनलाई हेरिरहेका हुन्छन् । नजिक आएपछि गजाधरले ती पाकालाई चिन्छन् । ती त पुराना शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्च रामप्रसाद भट्टराई पो हुनुहुदो रहेछ । उमेर पाको हुँदै जाँदा आँखाले पनि साथ छाड्न थाल्छ कि क्या हो ? त्यसैले होला रामप्रसाद बाले गजाधरलाई झट्ट नदेखेको । नजिक भएपछि गजाधरले बोलाउँछन् ‘दाई ! ए… दाई’ । आफूलाई कसैले बोलाएको सुनेर रामप्रसाद बा दायाँबायाँ हेर्छन् । गजाधरलाई आफ्नै छेउमा देखेपछि उनी झसंङ्ग झस्किन्छन् । आत्तिन्छन् । तर, गजाधरले नआत्तिन आग्रह गर्दै आफूले केही नगर्ने बताउँछन् र भन्छन्, ‘दाई ! म पनि तपाई जस्तै पाको भए नि !’
ठूलो ज्यान, लामो सुढ, लामा–लामा दाह्रा अनि छोटो पुच्छर । लफ्र्याक… लफ्र्याक कान हल्लाउँदै गरेको देख्दा रामप्रसाद बाले ‘हन कैले नेपाल प्रवेश गरियो हौं ?’ भनेर सोध्दछन् । एउटा वृद्धले अर्को वृद्धलाई मलिन स्वरमा प्रश्न गरेपछि गजाधरले उत्तर दिन्छन्, ‘आएको त धेर भएको छैन । झापाका धेरै ठाउँमा अल्मलिनु पर्दा ५–६ महिना जति भयो ।’
‘अनि यसरी झापा प्रवेश गर्दा कतै कसैले दुःख त दिएन हौं ?’ रामप्रसादले पुनः प्रश्न तेर्साए । ‘हैन हिजोआज हामी माथि आक्रमण गर्नुभन्दा बढी हाम्रो तस्वीर खिचेर, भिडियो गरेर, सेल्फी हानेर तर्साउछन् । आक्रमण गर्न त्यति भ्याएका छैनन् । कसै–कसै केही मूर्खहरुले ग्याटिस र तीर चाहिँ अझै पनि वर्षाउँदा रहेछन् ।’यता मानिसहरुले खिचेको हाम्रो फोटो आ–आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि उत्ता हामी बसेको ठाउँमा साथीहरुले ससुराली गएको गजाधर ठूले घुम्दै रहेछ । मोजमस्ती गर्दै रहेछ, अब ससुराली घरमा त झन मोज गर्ने भए बुढाले भन्दै कमेन्ट गरेको देख्छु । त्यतिकैमा रामप्रसाद बाले पनि गजाधरसँग एक पोज तस्वीर लिन पुग्छन् ।
भलाकुसारी हुँदै गर्दा छर्लङ्ग उज्यालो हुन्छ गजाधरले भने जस्तै वरिपरिका युवा, युवती हात्ती आयो… हात्ती आयो… भन्दै मोवाइलमा फोटो खिच्न पुग्छन् । सेल्फी हान्छन् । हुई.. हुई… र हाई.. हाई… हुन्छ । रामप्रसाद बाले उपस्थित मनुवाहरुलाई सम्झाउन पुग्छन्, ‘केही नगर है नानी हो केही नगर ।’
निकै ठूलो कोलाहलपछि शनिश्चरे प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु पनि गोलीगठ्ठा लिएर उपस्थित हुन्छन् । रामप्रसाद बा जस्ता पूर्व माननीय केदारमणि ढकाल, साहित्यकारहरु कुमार भट्टराई, कृष्ण बराल र क्या. मानबहादुर राई, जाँचबहादुर राई, कालुराम जस्ता मानिसले ‘केही गर्दैन हात्तीले नचलाउ, ढुंगामुठा नगर, आफ्नो बाटो लिएर आफै जान्छ’ भनेर सम्झाउँछन् । नजिक गएर पुच्छर तान्न खोज्ने एक उपद्रे युवालाई कुमार भट्टराईले सम्झाउँदै भन्छन्, ‘ए भाई ! यतिका बुढो जनवारको पुच्छर समातेर के पाउँछौं हँ ? हामी धेरै छौं, उ एक्लो छ भनेर हेप्न पाइन्छ ? त्यसो नगर ।’
ती उपद्रे युवाले पुच्छरमा रहेको रौं तान्न पाए बिक्री हुने थियो भन्ने दाउमा सोमरस खाएर उफ्रिएको रहेछ । मर्निङ वर्कमा निक्लेका कृष्ण दाईले पनि झोकिँदै पुच्छर समात्न खोज्ने युवालाई भन्छन्, ‘ए मोरा यतिको बुढो हात्तीको पुच्छरमा रौं नै छैन किन तातिन्छस् ? काल बोलाएको हो ? नचला तेरो मलामी जान र पोष्टमार्टम गर्न गाडी खोज्न हामी भ्याउँदैनौं ।’
गजाधर अगाडि बढ्दै जाँदा शनिश्चरे बजारमा पाइला पुग्छ । बुढाहरु पनि पछि–पछि गजाधरसँगै शनिश्चरे आइपुग्छन् । यतिकैमा गजाधरले रामप्रसाद बालाई प्रश्न गर्छन्, ‘ए दाई ! शनिश्चरे बजार त पुरै परिवर्तन भए छ त ? तपाई प्रधानपञ्च हुँदा १२ थोकको बजार लाग्थ्यो । आजभोलि ती बजारहरु बसाई सरेछन् कि क्या हो ?’ घ्यू बजार, कुखुरा, खसी, केरा, सिद्रा, सुर्ती, सब्जी, कपडा, दैनिक उपभोग्य र हिमाली जडीबुटी, भाडावर्तनका बजारहरु लाग्थ्यो । हिजोआज लाग्दैन कि क्या हो ? शनिश्चरे बजारमा कृष्णको मन्दिर, हनुमानको मन्दिर पनि थियो । सिनेमा हल पनि हटाएछन् । ठूल्ठूला कृष्ण मिल, नेपाल मिल पनि देख्न पाइदैन ।’
गजाधरको प्रश्न नसकिँदै हस्याङ फस्याङ गर्दै आईपुगेका लिलक सिटौला भन्छन्, ‘विकासका नाममा सबै विनास भयो ।’ गजाधरले शनिश्चरेका पुराना व्यापारी बृजमोहन, मंगरु चाचा, मित्तल, सुब्बा डाक्टर, पान पसल गर्ने बिसु, हर्क खड्का, आयुर्वेदिक भट्टे डाक्टरको नाम लिँदा सिटौलाले भने, ‘केही नखाने, कसैलाई नबिझाउने सुब्बा डाक्टर र मंगरु चाचा बाहेक अरु सबैले धर्ती छाडे ।’ शनिश्चरे बजारमा करिब १ घण्टा उभिएर नियाल्दा कंक्रिट नै कंक्रिटले बनेका ठूल्ठूला घर, भवन देख्छन् । साहित्यकार देवकोटाको प्रतिमा देख्छन् । वरिपरी विश्रामालयमा पाकाहरु गफिदै गरेको भेट्छन् । त्यतिकैमा लुखुर लुखुर नरेन्द्र तिम्सिना आएर गजाधरलाई भन्न पुग्छन्, ‘हजुर ! यो हाम्रो ज्येष्ठ नागरिकहरु बस्ने चौतारो हो । ज्येष्ठका अध्यक्ष उहाँ रामप्रसाद दाई हुनुहुन्छ । सबैको सहयोगबाट निर्माण गरिएको हो । हामी यही बसेर विगतलाई सम्झिदै दिन काट्छौं । कहिले काही हजुरहरुलाई ३५–३६ साल तिर लखेटिएको कुराकानी पनि हुन्छ । त्यसबेला हात्तीले मान्छे मार्छ भनेर हुईयाँ फैलाएको कारण झापाबासीहरु एक भएर खेदाएको हो भनेर गफ हुन्छ ।’
सानो आँखा ठूलो शरीर मुसुमुसु हाँस्दै गजाधरले भन्छन्, ‘धेरै मानिसले त हाम्रो पीडालाई बुझ्न नसकेर नै खेदाएको हो । पहिला–पहिला हामीलाई खेदाउँदा राँको, भाला, ढुंगामुठा र बन्दुक प्रयोग गर्थे । हिजोआज हाईहाई र हुईहुई गर्दै मोवाइलमा भिडियो र फोटो खिच्दै खेदाउँछन् ।’