बसपार्कको जग्गा विवादमा सभामुख घिमिरेको चासो « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बसपार्कको जग्गा विवादमा सभामुख घिमिरेको चासो


यलम्वर टाइम्स
२२ असार २०८१, शुक्रबार १२:३०

अर्जुनधारा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा वडा नं. ११ मा रहेको नयाँ बसपार्कको जग्गा विषयलाई लिएर चासो व्यक्त गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा यस्तो विवाद आइपर्दा समाधानका लागि आफ्नो चासो रहेको जोड दिए ।

शुक्रबार अर्जुनधारा नगरपालिकाको सभाहलमा बसपार्कबासीहरुसँगको छलफलमा सभामुख घिमिरेले बसपार्क क्षेत्रमा रहेको ५१ विगाह जमिन प्रक्रियागत खरिद बिक्री भई मालपोतलाई करसमेत बुझाएर बसोबास गरेको हुँदा विवाद आउनु ठीक नभएको बताए ।

सभामुख घिमिरेले बसपार्क क्षेत्रमा रहेका पाँच सय घरपरिवारमा विचलन आउनु हुन्न, आइपरे कानुनतः फुकाउनुपर्छ यसप्रति आफू सचेत भएर समाधानको बाटोमा लाग्ने समेत बताए ।

बसपार्कका विषयलाई लिएर मालपोत अधिकृत शेरबहादुर भण्डारीले समाधानको बाटोको लागि एक महिनाअघि सम्बन्धित निकायमा पत्र पठाइसकेको तर, त्यसको कुनै जवाफ नआएको बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख बन्धुप्रसाद बास्तोलाले सम्बन्धित निकायले समस्याको समाधान खोजी जनतालाई त्रासमुक्त बनाउनुपर्ने बताउँदै सभामुखको ध्यान केन्द्रीत भइसकेपछि समाधान हुन्छ भन्ने विश्वास लिएको बताए ।

कार्यक्रममा अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले प्रक्रिया अगाडि बढेर घनाबस्ती भएको ठाउँमा त्रास फैलाउनु दुःख लाग्दो भएको बताउँदै वडा नं. ११ का जनताले दुःख पाउने खाल्का सन्देश प्रवाह नगर्न सञ्चाकर्मीलाई आग्रह गरे ।

नगर प्रमुख गोम्देनले बसपार्कका जनताको विषयलाई लिएर मालपोत प्रमुख भण्डारीसँग सत्य, तथ्य बुझ्ने काम भएको तर, अहिलेसम्म गहकिलो जवाफ नआएको बताए ।

छलफलमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा, अर्जुनधारा वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, बसपार्क व्यवस्थापन समितिका सचिव शिव पौडेल लगायतले समस्याका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

झापा जिल्ला प्रहरी प्रशासनहरुको समेत उपस्थितिमा भएको छलफलको सञ्चालन केशव ढुंगेलले गरेका थिए ।