अब पूर्वलाई प्राथमिकताः माओवादी नेता गजुरेल « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

अब पूर्वलाई प्राथमिकताः माओवादी नेता गजुरेल


यलम्वर टाइम्स
१ श्रावण २०८१, मंगलवार १२:३८

बिर्तामोड । जनताको अधिकार प्राप्तिको युद्धमा उत्तिकै योगदान दिएको पूर्व क्षेत्रलाई पार्टीले प्राथमिकता नदिँदा चौथो स्थानमा रहनुपरेको कुरा पार्टी उपमहासचिव हरिबोल गजुरेल ‘सित्तल’ले बताएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्र बिर्तामोड नगरपालिकाको १० औं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव गजुरेलले समाजवादी क्रान्ति पूर्वबाट उदाएर पश्चिमसम्म लैजानका लागि अब हरेक क्रियाकलापमा पार्टीले पूर्वलाई प्राथमिकता दिनुपर्ने बताए ।

पार्टीका हरेक कार्यक्रम रोल्पा, रुकुममै हुनुपर्ने, पार्टी प्रशिक्षण, राज्यबाट हुने नियुक्ति, सत्तामा सहभागि गराउँदा पश्चिमलाई नै प्राथमिकता दिएको हुँदा पूर्व ओझेलमा पर्यो । अब पार्टीले पूर्वलाई हेर्ने दृष्टिकोण सकरात्मक हुन सकेन भने अझ क्षति हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिपोर्टिङ गरेको बताए ।

उनले यसरी पूर्व क्षेत्रकै संयोजक भएर काम गर्दा झापामा ५ स्थानमा सांसद विजय गराएको स्मरण गराउँदै अब पहिलाको जस्तै पार्टीमा एकजुट भएर अगाडि बढेको खण्डमा राज्य सत्ताबाट मात्र होइन पार्टी पद्दतीमा पूर्वलाई उचित स्थान दिएर लगिने बताए ।

नवौं विस्तारित बैठकभन्दा दशैं विस्तारित बैठक भेला अझ प्रभावकारी भएको हुँदा बिर्तामोड क्षेत्रमा संयोजक रहेर खट््नुहुने केन्द्रीय सदस्य हरिकुमार रानालाई धन्यवाद बधाई दिएका थिए ।

पार्टी अध्यक्ष मोहन सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबै सदस्यहरुलाई पार्टी उपाध्यक्ष जेवी जवेगुले स्वागत गरेका थिए ।

गणेश सौगात कालिकोटेले सञ्चालन गरेको कार्यक्रममा पार्टी प्रदेश नं. १ का संसदीय दलका प्रमुख इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले संघीयतालाई स्थायित्व प्रदान गर्न नेपाली जनता सचेत रहँदारहँदै दुई ठूला दल एक ठाउँमा उभिएर हिजो जनताले ल्याएको बलिदानपूर्वक अधिकारहरु कुण्ठित गर्न ओली सरकार आतुर भएको हुँदा खबरदारी आवश्यक रहेको बताए ।

काण्डै काण्डमा मुसिएका नेतृत्वहरुबाट जनताले के आशा अपेक्षा गर्ने ? प्रश्न गर्दै नेता आङ्बोले छोटो समयमा प्रचण्ड सरकारले जनताको लागि ल्याएको कृषि रणनीति, उत्पादन र आत्मानिर्भरता आजको आवश्यकतासँगै पहिचान र संघीयतालाई स्थायीत्व राख्न गोलबन्द हुनुपर्नेमा जोड दिए ।

विस्तारित बैठकमा झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले पार्टी पद्दतीबाट उठ्दै गरेको माओवादी केन्द्र यही तरिकाबाट अगाडि बढ्ने हो भने हिजोको दिनमा पुग्न त्यति कठिन नभएको बताए । उनले पूर्वको संगठन अभियानबाट उठेको जानकारी दिए ।

माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य ‘अग्नी’ ले पछिल्लो पटक झापामा पार्टीले गरेको अभियान तिब्र भएको र दमक नगर समितिमा रचनात्मक कामसँगै पार्टीप्रति पुराना कार्यकर्ताहरुको मन फर्किरहेको अवस्थामा बिर्तामोड नगरले पनि केही सक्रिय काम गरिरहेको हुँदा धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष विजय साम्पाङले सांगठानिक प्रशिक्षण प्रदान गरेका थिए भने पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाले पार्टी संगठनलाई निष्पक्ष र पार्टीले गरेको कार्यनीति लिएर जनतामाझ पुगे माया गर्नेहरुको संख्या प्रशस्त रहेको बताए ।

उनले राष्ट्र र मुलुकको लागि काम गर्ने दल माओवादी केन्द्रभन्दा अर्को इमान्दारी दल नभएको बताए ।