बिर्तामोडको अभियानको सन्देश « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

बिर्तामोडको अभियानको सन्देश


यलम्वर टाइम्स
२० श्रावण २०८१, आईतवार ११:५२

मानिसका शरीरमा प्रतिकुल असर विषादीले हुने गरेको छ । हामीले खानामा सेवन गर्ने सब्जीहरुमा अत्याधिक विषादी भेटिएको कारण स्थानीय वडा सरकारले भारतबाट आएका सब्जी होइन गाउँघरमै उत्पादन गरेका सागसब्जी प्रयोग गरौं भन्ने अभियान सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजारमा भारतीय उत्पादित साग, सब्जी लगायत अन्न जातका तरकारी भित्रिने गर्छ । त्यसमा विषादी प्रयोग गरिएको हो होइन ? भनेर मापन नगर्दै व्यापारीहरुले तछाडमछाड गरी लैजाने हुँदा विषादी प्रयोग अत्याधिक देखियो । त्यसलाई रोकथाम गर्न नसकिने भएको हुँदा जनचेतना मार्फत आफ्नै बारीमा उत्पादन गरेर सेवन गर्दा मानव शरीरमा फाइदा हुने भएकाले ‘पारीको होइन बारीको सब्जी सेवन गरौं’ भन्ने नारा ल्याएको बताइन्छ ।

भारतबाट नेपाल भित्रिने सब्जी झापामा मात्र होइन, पश्चिम बुटवलसम्मका बजारमा पुग्छन् । रातारात भन्सार काटेर बजार पुर्याउनुपर्ने हुँदा न त विषादी मापन गर्न कर्मचारीहरुले भ्याउछन् न त विषादी छ भनेर छेक्न सकिन्छ । चाँडो कुहिने भन्दै भन्सार कटाएर लगिने हुँदा विषादीयुक्त सब्जी नेपाली जनताले प्रशस्त सेवन गरेका हामी देख्छौं । सरकारले सीमा क्षेत्रमा विषादी यन्त्र राखेर चेकजाँच गरी नेपाल भित्रिन दिने नीति छ तर, त्यो नीति सीमाका कर्मचारीले न त मान्ने गरेका छन् न त कृषिथोक बजारमा राखिएको यन्त्रको प्रयोग नै हुन्छ । त्यसो नहुँदा बारीको सब्जीलाई प्राथमिकता दिनुपर्ने भनाई छ ।

नेपालमा विषादीकै कारण विभिन्न रोग लागेर मृत्यु हुनेहरुको संख्या त्यतिकै छ । दीर्घरोगीहरुले परिवार आक्रान्त भएको अवस्था छ । दिनदिनै क्यान्सर, मिर्गौला, मानसिक र रक्तचाप, मधुमेह रोगले समाजलाई च्यालेन्ज गरिरहेको अवस्था छ । त्यसलाई न त औषधीले चिर्न सक्छौं न त कुनै छेक्ने माध्यम नै छ । त्यसलाई रोक्ने एउटै मात्र यन्त्र भनेको आफै उत्पादनमुखी भएर सेवन गरे उपयुक्त हुने देखिन्छ । सब्जी तरकारीमा बिर्तामोड वडा नं. ५ ले थालेको अभियान पारीको होइन बारीको प्रयोग गरौं भनी टोल–टोलमा गरेको कामप्रति धन्यवादको पात्र नै भएको छ ।