सपनाको बही पल्टाउने हिम्मत गर्दा « Yalambar Times
१८ मंसिर २०८१, मंगलवार

सपनाको बही पल्टाउने हिम्मत गर्दा


यलम्वर टाइम्स
२३ भाद्र २०८१, आईतवार ०९:१७

आजको बसिबियाँलो कवि गजलकार मन बहादुर थेगुवाको सपनाहरूको बहीमा समर्पित गर्न जादैछु । उहाँ एक हुनहार सचेत लेखक उपनाम ‘अभागी थेगुवा लिम्बू’ रहेछ तर किन होला आफैलाई अभागी ठानेको त्यो चाहिँ बुझ्न अलि गा¥हो भयो जे होस् उहाँ अति सरल सहज सहयोगी र साहित्यलाई माया गर्ने व्यक्तित्वका धनी जसको प्रकाशित कृतिहरू हुन्, सप्तकोशीको किनारमा (संयुक्त गजल संग्रह –२०५४), बुद्धले अस्त्र… (कविता संग्रह–२०५८), म हर्के अनि युद्ध (गजल काव्य–२०६७) र जसको रसले आज म रुझी रहेछु त्यो हो सपनाहरूको बही (कविता संग्रह–२०८१) । उहाँको लेखाइ अति सरल भाषा शैली र बिम्बको प्रयोगले कविताको मिठास अझै बढेको ज्ञात हुन्छ ।

जीवन र मृत्युको बीचको समय नै जिन्दगी रहेछ आस्थासँग सपना बोकी उहाँ भन्नुहुन्छ जीवन खोस्न आउनेहरू चारैतिर सलबलाई रहेछन् आफू भने उनीहरूसँगै जीवनदान मागिरहेको भन्दै समाजमा घटिरहने घटनाहरूलाई यसरी कविताको माध्यमले छर्लङ्ग पार्नु हुन्छ ।

‘यही आस्था भाकेर
आत्मादेखि प्रार्थना गर्दै
अलिकति रहर र्साँचेर
थोरै बाध्यता बाँधेर
आँखै नखोली म
उनीहरूसँग जीवनदान माग्ने गर्छु ।’

उता फेरि काठमाडौंलाई खबर लुङालाई छोड्नुहुन्छ भने संकीर्णताको बर्काे फालेर बृहत् अकाश ओड्ने एउटै नेपाल आमाको काखामा रमाउँने अभिलाषाको पोको लुङाको हातमा थमाउदै,
‘त्यो काठमाडौलाई
प्रश्न राख्न मन लागेको छ
हाउ लुङा
यो खबर सुनाइदिनु होला ।
लखन थापा र काड्सोरेहरू
इतिहासको पानाभित्र किन नभेटिएको… ।’

उहाँ भने एतिबेला गणीतको सुत्र प्रयोगद्वारा जीन्दगीको हर हिसाब निकाल्दै जिन्दगी टुंगिने कुरा आफ्नै कंकालले भित्तो सिगाँरेको कुराबाट प्रष्ट पार्नुहुन्छ । उहाँका कविताहरुमा छुट्टै आकर्षण छन् । जस्तै गणितको सुत्रमा कविताहरूको जोग वियोग, पुरण हरण हुँदै अन्त्यमा समाधानको बाटो पनि भेटिन्छ ।

साँढेको जुधाइ र बाछाको मिचाइको सुइँको आउने भूमिगत युद्ध कवितामा कवि थेगुवाले शुन्यतापछिको कोलाहललाई अगाडि सारेर युद्धको परिणाम लाचार गरीब कृषक मजदुरले ज्यान गुमाएको तितो यथार्थलाई अति सरल भाषामा पुष्टि गर्नु भएको छ  ।

उता फेरि आफुलाई घोडा र घोडालाई आफु जस्तै मुद्रामा राखेर स्वतन्त्रता छर्दाछदै पनि अरुको तबेलामा बाधिएको भन्दै दास प्रथाको सुन्दर चित्रण गर्दै आफू जिएको पनि अरुकै निम्ति रहेछ भन्दै वेदनाको हरफहरूले मन अमिलो पार्नु हुन्छ ।

‘सदाएको घोडा न हुँ
आफ्नो भन्ने मौलिकता
कै कहाँ नै पो हुन्छ ।
मेरो स्वतन्त्रता जङ्गल हो
तर यतिखेर म
तिम्रो तबेलामा बाँधिएको छु ।’

आगो, हतियार र म कवितामा कवि थेगुवा आँफै बाल पात्र रुपमा प्रस्तुत हुँदै बोजुले दिएको ज्ञान आगोसँग खेल्न र हतियारसँग चल्न हुँदैन भन्ने सन्देश छोड्नुहुन्छ भने युद्ध रगत र रंगहरू कवितामा कवि अति मार्मिक हुँदै युद्धले सर्वनास मात्रै गर्छ जसले जहाँ बगाए पनि जति नै बगाए पनि रगत रगत नै हो अनि रगत रातै हुन्छ भनेर अन्त्यमा आफु चाहिँ निलो रगत बाँचेको कुरा बताउँदै कवि थेगुवाले समाजमा दिनहुँ घटेका देखेका र भोगेका घटनाहरूलाई साक्षी बनाएर सामाजिक विकृति पन्छाउने हिम्मत जुटाउनु भएको छ ।

शिक्षक कवितामा कविले शिक्षकको पीडा कतै शिक्षक हुनुको गर्वबोध भइ ढक्क फुलेको छातीको बयान गर्दै यसो भन्नु भएको छ । मास्टर हुनुमा गर्व गरिरहेको छ, किनभने ऊ देशका खाबाहरू ठड्याइरहेछ । यसरी शिक्षकको सम्मान गर्दै कविले शिक्षकको दुःख पीर मर्काको पनि सुन्दर तरिकाले प्रस्तुत गर्नु भएको छ ।

‘भरजीवनको घोटाइ
खिएर खरीसँगै
बाँकीछ मात्र हाड्छाला
बाडीएर ज्ञानसँगै
बाकी छ मात्र नमुना मानव
तैपनी गर्व गरिरहेछ
किनभने ऊ देशका पर्खालहरू चिल्याइरहेछ ।’

एउटा सत्य बोल्दा पनि सयौंपल्ट झस्किदै जिएको छु भन्दै कवि थेगुवा पिएको क्षण कवितामा मातेको मान्छे सत्य र निडर हुने सत्यको उद्घाटन गर्दै यसरी भावनामा बग्दै–बग्दै कहिले बुद्धसँग त कहिले रामसँग अनि फेरि कहिले एउटा ईच्छा आस्थासँग राख्दै मनका बहहरू बिस्तारै फुकाउदै कतै भोकमाथि धावा त कतै अभावसँग मित्रता गाँसेको कुरा सुनाउनुहुन्छ ।

कविले नयाँ नेपाल कवितामा नेपालको अहिलेको परिस्थितिलाई मध्य नजर गरेर भोलि कस्तो हुन्छ भन्ने कुरा सानो नातिलाई सुनाउँदै हाम्रो परिवर्तनको माग राखेको बुझ्न सकिन्छ । उसैगरी वर्तमानमा म कवितामा कविले अति सहज तरिकाले वर्णन गर्नु भएको छ । भोलिको पर्खाइमा आजको दिन पनि स्वाहा गरिएको छ । यसैगरि चलिरहेको छ जीवन प्रणाली कस्ले देखेको छ र भोलि ? उहाँका हरेक कविताले केही न केही सन्देश बोकेको देखिन्छ । यसरी नै बाध्याता कवितामा जसरी सूर्यको आगमनपछि अन्धकारको अन्त्य हुन्छ उसैगरी समय एउटै रहन्न गतिशील छ । आज दुःख छ त भोलि अवश्य सुख आउँछ भन्ने कुरा खुलस्त गरेको पाइन्छ । यथार्थ सपनामा कवि अरुको भएर बाँचिदिनुहुन्छ भने बाजेको कथामा सिङ्गो महाभारत अटाउनु हुन्छ फेरि अन्त्यमा बाजेलाई नै उल्टो पारी दिनुहुन्छ समयको तराजुमा हालेर यस्तै नै छ अहिलेको परिस्थिति । सबैले बुझ्ने भाव, भाषा र शैलीको संयोजन साथै सुन्दर आवरण पृष्ठ भएको यो कृतिभित्र ५१ वटा कविता र ५ वटा ओटा कोरोना सम्बन्धि कविता सहित ६१ वटा कविताहरु समेटिएका छन् । कसबै कविता आफैमा उत्कृष्ट छन् भने कुनै कविताले अरुको एउटा कवितालाई समर्थन गरि रहेको पनि पाइन्छ । कतै उहाँको कवितामा माटोको सुगन्ध छ भने कतै देश प्रेमको भवनाले लतपल भएको थाहा हुन्छ ।

म र जागिर कवितामा भोक र अभावसँगै रहरलाई ताल्चा मारेर शून्य बोकी हिडेको कविलाई देख्न पाइन्छ । उसैगरी मृत्युको लीला कवितामा कवि मृत्युबाट आफैलाई कसैले बिउझाइ देउ भन्दै आफ्नो संघर्षलाई मृत्युसँग दाज्न पुग्नुभएको छ । भाले कवितामा कविले कसैले खुशीयाली मनाई रहेको बेला कसैले ज्यान गुमाइरहेको कथा बस्तुलाई समेटेर सुन्दर तरिकाले पोख्नु भएको छ ।

सन्तानको खाचो एउटा शक्तिशाली कविता हो जहाँ एउटी आमाले सन्तान मार्न सक्दिन तर मार्ने जन्माउन सक्छु भन्दै मलाई बिज देउ एउटा गर्व राख्नु छ रक्षाकवज जन्माउने इच्छा व्यक्त गरेको देखिन्छ ।

कविको यस संग्रहमा गाउँघरबाट संख्या १, २, ३, ४, बुद्धले अस्त्र १, २, क्रान्ति १, २, शिक्षक १, २, यसरी एउटा कविताले अर्कोलाई समरथन गर्दै अघि बढेको पाइन्छ । आँखाले छामेका कविताहरूमा कविले कतै आशामा बाचेको देखिन्छ भने कतै निरासाको सिरानमा पल्टेर आफैलाई बिर्सेको बोध हुन्छ । कतै उत्तर आफै प्रश्न बनेर तेर्सिदिन्छ्न् त कतै क्रान्तिले शान्ति भङ्ग गर्दै गरेको प्रमाण पोखिन्छ ।

अन्त्यमा उहाँले कोरोनाकालीन समयको सदुपयोग गरि रचेका रचनाहरूले कोरोनाको महामारी फैलिएको बेला हामीले भोगेका दिनहरूको एक एक हर हिसाब ती कविताहरूमा पाइन्छ । एउटा अनागरिक सिमानाभित्रको शनिदेव भनेर सम्बोधन गर्दै लकडाउनमा घरभित्र थुनिएर सोचेका कुराहरू कविता मार्फत सुन्दर ढङ्गले पस्किनु भएको छ भने उता बिदेशमा कमाउन हिडेकाहरू उतै कोठाभित्र थुनिएर भोक अनि प्यासमा छट्पटिदै ज्यान गुमाएको कुरा छोरा अनि शनिदेव कवितामा कवि थेगुवाले प्रष्ट पार्नु भएको छ ।

आज उहाँको कविता संग्रहमा आँखा डुलाउदै गर्दा यस्तो लाग्छ यो पुस्तक चाहिँ सबैले पढ्नै पर्ने पुस्तक हो । यहाँ कवि आफै पात्र भएर उभिदै विकृति हटाउने प्रयास त कतै समाज व्यवस्था परिवर्तनको माग गर्दै अघि बडेको देख्न सकिन्छ । यी कविताहरूले उहाँलाई एक अब्बल कविको दर्जामा पुर्याउन हिच्किचाउदैनन् भन्ने मेरो विश्वास छ ।

अन्त्यमा उहाँलाई धेरै–धेरै शुभकामना अझै पनि यस्ता रसिला स्वादिला बान्की परेका कविताको प्रेमसागरमा पौढ्ने अवसर मिलोस् भन्दै एउटा पाठक हुनुको प्रतिक्रिया यसरी राखेकी छु ।