प्रचण्ड झापा आउँदा राजनैतिक तरंग « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

प्रचण्ड झापा आउँदा राजनैतिक तरंग


यलम्वर टाइम्स
२९ भाद्र २०८१, शनिबार ०३:५१

नेता कन्दङ्वासहित सयौं पार्टी प्रवेश गर्दै

बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाका अगुवा नेताहरुलाई राजनैतिक प्रशिक्षण दिने भएका छन् ।

सात वर्षपछि झापा प्रवेश गर्न लाग्दा अध्यक्ष प्रचण्डले कस्तो प्रशिक्षण दिने हुन भन्ने तरङ्ग पैदा भएको छ । अध्यक्ष प्रचण्डको झापा भ्रमणसँगै पार्टी प्रवेश गर्नेहरुको संख्या पनि निकै रहेको केन्द्रीय सदस्य हरिकुमार रानाले बताए ।

सत्तामा बस्दा पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी, कमिसनमा लिप्त भुटानी शरणार्थी मुद्दा र सरकारी जग्गा अपचलन गर्नेलाई धरपकट गर्न सुरु गर्दा ठूला दल एमाले र कांग्रेसबाट सत्ता चुत भएका थिए । राम्रा काम गर्न खोज्दा ठूला दल बाधक भएको हुँदा त्यसको विषयमा खुलेर जनतालाई सन्देश दिन आउने भएका हुन् ।

अध्यक्ष प्रचण्डको जोड लोकतान्त्रिक गणतन्त्रमा जनताले दुःख नपाउन भन्नेमै केन्द्रीत छ । हालै केन्द्रीय समितिको बैठकमा भनेको सन्देश केन्द्रीय नेता रानाले यलम्वर टाइम्सलाई बताए ।

२०७२ को संविधानलाई उल्टाउन कांग्रेस, एमाले लाग्न खोजेको हुँदा त्यसलाई सशक्त प्रतिकार गर्नु पर्ने सन्देश अध्यक्ष प्रचण्डले दिने भएको झापा इन्चार्ज झलकसिंह दर्लामी सन्देशले बताए ।

प्रवेशको लहर

अध्यक्ष प्रचण्ड शनिबार झापा आउनुहुने योजना छ । २९ गते शनिबार प्रदेश नं. १ मोरङमा अन्य पार्टीका कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउने र ठीक ४ः३० बजे झापाको आदिवासी रंगशालाको अवलोकनपछि त्यहाँका वस्तुस्थिति बुझ्ने भएका छन् ।

३० गते बिहान ८ बजे बिर्तामोडको सिटीसेन्टरमा शहीद परिवार र घाइते अपाङ्गसँग दुःख साटासाट गर्ने, ८ः३० बजे पूर्व लडाकुसँग छलफल गर्ने ९ बजे सडक मजदुरसँगको अवस्था बुझ्ने योजना रहेको पार्टीले जानकारी दिएको छ ।

३० गतेका दिन ११ः३० बजे प्रचण्डको राजनीतिक प्रशिक्षणसहित पुराना कम्युनिष्ट नेता तथा बुद्धिजीवि लोकबन्धु कन्दङ्वासहित पाँच सयभन्दा बढी पार्टी प्रवेश गर्ने भएका छन् । प्रवेश गर्नेहरुमा जसपाका प्रदेश नेता, नेकपा एमालेका नेताहरु लगायत रहेको जनाइएको छ । प्रचण्डको सुरक्षाको लागि वाईसीएलाई खटाइनेछ ।