ठूला दल धनी जनता गरिबः नेता राना « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

ठूला दल धनी जनता गरिबः नेता राना


यलम्वर टाइम्स
३० भाद्र २०८१, आईतवार ०८:०४

अर्जुनधारा । भ्रष्टाचार र कमिसनको दलदलमा फसेको सरकारले जनताको मनोबल बढाउन नसक्ने भएको हुँदा अब गाउँबस्ती र टोलबाट जनताको भावनालाई समेट्ने गरी संगठन तीब्र पार्नुपर्ने कुरा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिकुमार रानाले बताएका छन् ।

अर्जुनधारा–५ स्थित नेकपा माओवादी केन्द्र अर्जुनधाराका सक्रिय कार्यकर्ता भेटघाट बीच छलफललाई सम्बोधन गर्दै नेता रानाले २०७२ को संविधान र लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका खेल्ने दल माओवादी नै भएको हुँदा माओवादीले पछिल्लो पटक कडाईका साथ धर्म निरपेक्षता, संघीय राज्य र प्रदेश राज्यलाई स्थायीत्व दिँदै त्यहाँ बसोबास गरेका जाति, जनजाति, दलित, अल्पसंख्यकलाई राज्यमा प्रतिनिधित्व गराउने जुन नीति ल्याएको छ, त्यसलाई कार्यान्वयन गर्न पनि माओवादी केन्द्र पार्टीलाई जनतामाझ पु¥याउनुपर्ने बताए ।

राज्य सत्तामा बसेर चरम गुठबन्दी गरी जताततै भ्रष्टाचार, कालो बजारीया, सरकारी जग्गामाथि गिद्दे दृष्टि राखी दल उस्किने जनता गरिब हुने हुँदा नेपाली जनतामा निराशा छाएको बताए ।

उनले रोजगारको प्रशस्त आधार हुँदाहुँदै गरिबका छोराछोरी मन दुखाउँदै बैदेशिक रोजगारमा जान बाध्य पारिएको बताए । त्यसको अन्त्यका लागि पनि माओवादी केन्द्रले ल्याएको नीतिले समाधान गर्ने हुँदा पार्टी संगठीत गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।

माओवादी केन्द्रले विशेषत दलित, महिला, आदिवासी जनजातिको एजेण्डा काँधमा बोकेर आएको हुँदा त्यसलाई अक्षरस पालना गर्न र सत्तामा पु¥याउन ति वर्ग जातिहरुसँग हातेमालो गर्दै आगाडि बढ्नुपर्ने दिन आएको छलफलमा कार्यकर्ताहरुलाई बताए । उनले सबै जातजाति र अधिकारका लागि पहिचान दिलाउने दल माओवादी केन्द्र बाहेक अरुको तागत नभएको ठोकुवा गरे ।

लामो समयपछि यसरी भएको छलफललाई नगर पार्टी अध्यक्ष नरबहादुर तामाङ ‘नारद दुःखी’ले सहजीकरण गरेका थिए ।

११ वटै वडाबाट पार्टी नेताहरु उपस्थित भएका थिए । छलफलमा जिल्ला सह–इन्चार्ज रोशन कन्दङ्वा, प्रदेश सदस्य जीतेश योञ्जनले सरकारबाट बाहिर रहँदा पार्टीलाई संगठन संरचना निर्माणमा राम्रो हुँदै आएको बताए ।

छलफलमा वडा नं. ४ का नरबहादुर सिटौला, १ बाट विजेन्द्र येक्तेन, वडा नं. ९ का पुष्प तामाङ, अम्बिका फुयाँल, देवकला प्रसाई, आरएन मिश्र, वाईसीएल नेता समिर लिम्बू, कमलचन्द्र डाँगी, युवराज नेपाल, याम रैका लगायतले आ–आफ्नो विचार राखेका थिए ।