माओवादी नेता पुरानै शैलीमा चले खिया लाग्ने « Yalambar Times
२३ माघ २०८१, बुधबार

माओवादी नेता पुरानै शैलीमा चले खिया लाग्ने


यलम्वर टाइम्स
२३ माघ २०८१, बुधबार १४:१६

बनियानी । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुद बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको शुक्रबार पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको बताउँदै उनले नेता पुरानै शैलीबाट चले खिया लाग्ने बताए ।

पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउँदै उनले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याए । ‘पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ’, प्रदेश नं. १ का इञ्चार्ज समेत रहेका गजुरेलले अगाडि भने, ‘अब युवाहरु जाग्न पनि जाग्नुपर्छ ।’

पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उनको ठहर छ । ‘बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन’, उनले भने, ‘हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।’

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताइन् । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताए । उनले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने धारणा राखे ।

पार्टी जिल्ला अध्यक्ष राजु आचार्य ‘अग्नी’ को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यत्रय हरिकुमार राना, रञ्जीत तामाङ, लोकबन्धु कन्दङ्वा र प्रदेश सांसद बन्धना झागडको उपस्थिति थियो ।