अर्जुनधारा । यो वर्ष अर्जुनधारा–७ मिलडाँडामा पूर्ण कदको बुद्धको मूर्ति निर्माण हुने भएको छ ।
नगरको १६ औं नियमित अधिवेशन अर्धवार्षिक प्रतिवेदनमा बुद्धको मूर्ति स्थापनाका लागि रु ४ लाख बजेट छुट्टिएको छ ।
अर्जुनधाराको मिलडाँडा पछिल्लो पटक आकर्षक स्थान बन्दै गइरहेको बेला बुद्धको मूर्ति स्थापनापछि आन्तरिक पर्यटनका लागि अझ सुन्दर हुने देखिन्छ ।
सरकारको सहयोगसँगै स्थानीयवासीहरुले पनि सहयोग गरेर यात्रुहरु अल्मलिने, रमाउने र केही छिन बस्न सक्ने स्थानमा जोड दिए मिलडाँडा टाङटिङ र विरिङ बीचको सुन्दर स्थान बन्नसक्ने थियो ।
यसरी नै अर्जुनधारा–७ खेल मैदान नजिक फुलमति बाटिकाको सौन्दर्यताका लागि नगरले रु. २ लाख रकम विनियोजन गरेको छ ।
उक्त बाटिकालाई अझ सुन्दरता प्रदान गर्न पानीको धारा जडानसँगै बालबालिका र अन्य आगन्तुक पाहुनाका लागि गन्तव्य स्थल बनाउने वडाध्यक्ष गोविन्द खतिवडाले बताए ।
बाटिकामा हाल आकर्षक बिजुली जडान गरिएको छ भने आगन्तुक पाहुनाका लागि शौचालय निर्माण गर्नुपर्ने देखिन्छ । दैनिक जसो युवाहरुको गन्तव्य स्थल बन्दै गइरहेको पाइन्छ ।