भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा « Yalambar Times
१० फाल्गुन २०८१, शनिबार

भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा


यलम्वर टाइम्स
१० फाल्गुन २०८१, शनिबार ०९:२९

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो  ।

भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे ।

दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।