बाह्रदशी । हुलाकी मार्ग अभियान अन्तर्गत हुने जागरण कार्यक्रममा झापा बाह्रदशी गाउँपालिकाका जनताले भोग्दै आएको चार समस्या राख्ने निर्णय गरेका छन् ।
वर्षौंदेखि बाह्रदशी गाउँपालिकाका जनताले झेल्दै आएको समस्या मध्ये, हात्ती आतंक, रसायनिक मल अभाव, विरिङ्ग नदी कटान र यस क्षेत्रमा अत्याधिक विषालु सर्पदंशका समस्या देखिएको र अकालमै मृत्युवरण गर्नेहरुको संख्या वृद्धि भएकाले सर्पदंश अस्पताल निर्माणका लागि ज्ञापनपत्र दिने भएका छन् ।
यसअघि कांग्रेस र एमालेको सरकारलाई पटक–पटक ध्यानाकर्षण सहित माग गर्दा पनि सुनुवाई नभएको र सानो पूँजीबाट बाह्रदशी पालिकाले यति ठूलो काम गर्न नसक्ने भएकाले पहिलो पटक फागुन १२ गते जागरण सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएपछि यहाँका जनताले ती चार माग राख्ने भएका छन् ।
यसरी नै १२ गते नेकपा माओवादी केन्द्रको आयोजना र झापाको व्यवस्थापनमा हुलाकी मार्गबाट जनजागरण अभियान सुरु हुने भएको अध्यक्ष अग्नीले जानकारी दिए ।
जागरण अभियानमा पार्टीका महासचिव देव गुरुङ, पार्टी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरुको उपस्थिति रहने जनाएका छन् ।