‘खानेपानीको अवलोकन भ्रमणले राम्रै ज्ञान दियो’ « Yalambar Times
२६ फाल्गुन २०८१, सोमबार

‘खानेपानीको अवलोकन भ्रमणले राम्रै ज्ञान दियो’


यलम्वर टाइम्स
२५ फाल्गुन २०८१, आईतवार १४:५७

अर्जुनधारा । अध्ययन अवलोकन भ्रमणमा गएको चर्चा चलेपछि शनिश्चरे–अर्जुनधारा खानेपानी उपभोक्ता समितिले खर्च बढी भयो भनेर भ्रममा नपर्न आग्रह गरेको छन् ।

संस्था स्थापना समयदेखि नै अध्ययन, अवलोकन भ्रमण गर्ने र अवलोकन भ्रमणमा देखिएको राम्रो ज्ञानलाई आफ्नो संस्थाले प्रयोग गर्ने नीति रहेको हुँदा भ्रमणमा गएको अध्यक्ष किरण शिवाकोटीले प्रतिक्रिया दिए ।

शनिश्चरे–अर्जुनधारा खानेपानीको गुणस्तर र सेवा सुविधा बढ्दै गएको र अझ प्रभावकारी कसरी गर्न सकिन्छ ? भन्ने उद्देश्य अवलोकन भ्रमणमा गरिएको हो ।

‘वर्षभरी काम गर्ने सात कर्मचारी र उपभोक्ताको हितमा निरन्तर खटिरहने कार्यसमिति सहित केही सल्लाहकार भ्रमणमा सामेल थियौं । कर्मचारी बाहेक समिति र सल्लाहकारले जनही केही रकम उठाएर अवलोकन गरिएको थियो तर अनर्गल भ्रम बढी फैलिएछ’, अध्यक्ष शिवाकोटीले भने ।

भ्रमणको क्रममा उत्तरी हिमाली जिल्ला मार्फ खानेपानी आयोजना हेर्ने मौका मिल्यो । त्यहाँ अध्यक्ष जेम्स शेरचनले हिमाली जिल्लामा पानी भण्डार गरेर तीन सय घरधुरीलाई मितव्ययीताका साथ पानी प्रदान गर्दै आएको बताए ।

यो अवलोकनले के पाठ सिकायो भने उपभोक्ताले पानी सञ्चय गरेर प्रयोग गरियो भने खर्च बढी नहुने देखियो र प्रत्येक उपभोक्ताले आ–आफ्नो घरमा ट्यांकी (पानी भाडा) राखे उत्तम हुने सुझाव पनि पाइयो । यात्रामा सहभागि संख्याका प्लम्वर ललितबहादुर कुँवरले बताए ।

यसरी नै स्याङ्जाको बालिङ साना शहरी खानेपानी उपभोक्ता समितिसँग अन्तरक्रिया भएको पनि सहभागि शान्तिदेवी राईले बताइन् ।

राईका अनुसार तीन हजार उपभोक्ता रहेको उक्त संस्थाले डीप बोरिङ गरेर पानी वितरण गरेको र पानी प्रयोगसँगै पानी चलाउने र बचाउने आम उपभोक्तामा ज्ञान प्रदान गरिएको अध्यक्ष विद्या श्रेष्ठले बताएकी थिइन् ।

उक्त संस्थाबाट पानी जडान गरेको १८ हजार ५ सय लाग्ने गरेको पनि सुनाइन् ।

अवलोकनकै क्रममा तान्सेनको प्रभास खानेपानी उपभोक्ता समितिको कार्यालयमा पुगेर अवलोकन गर्ने काम भएको भ्रमणमा सहभागि सदस्य राजेन्द्र काफ्लेले बताए । त्यहाँ धारा जडान गरेको ६५ हजार लिने गरेको सुनाए ।

मुख्य बाटोमा पर्नेलाई ६५ हजार, शाखा बाटोमा घर भएकालाई ५० हजार र भित्री बाटो परेका जनतालाई ४० हजार लिने गरेको देख्दा अचम्म लागेको पनि काफ्लेले सुनाए ।

प्रभास खानेपानीका पानी जडान प्रक्रिया कठिन तरिकाले गरेको सहभागि अपरेटर अर्जुन कार्कीले सुनाए ।

अध्ययन अवलोकन भ्रमणमा पुग्दा प्रायः ऋण काटेर पानी भण्डार गरी उपभोक्तालाई खुवाएको देखियो । तर, शनिश्चरे–अर्जुनधार खानेपानीले ऋण काट्नु परेको छैन, स्वच्छ पानी खुवाउन समिति तल्लिन नै छौं अध्यक्ष शिवाकोटीले सुनाए ।

संस्थाको नियम र साधारण सभाले पारित गरेको निर्णय अनुसार भ्रमण गएको बताउँदै भ्रमणमा रु एक लाख पैतालिस हजार खर्च भएको पनि शिवाकोटीले जानकारी दिए ।

‘राम्रा कामका लागि गएका हौं, साधारणसभाले अवलोकन भ्रमण नगर भन्ने म्याण्डेट दिए भने जादैनौं’ सचिव राकेश ढकालले भने ।