ट्रकको ठक्करबाट अर्जुनधाराका बरालको मृत्यु, समाजमा एउटा इटा उकिएको महशुस « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

ट्रकको ठक्करबाट अर्जुनधाराका बरालको मृत्यु, समाजमा एउटा इटा उकिएको महशुस


यलम्वर टाइम्स
१८ बैशाख २०८२, बिहीबार १५:०१

चारआली । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ ५:३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख.२३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प.६४९८ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल गम्भीर घाइते भई अचेत अवस्थामा रहेका थिए । उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पु¥याइएको थियो । बराललाई अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोष्टमाटमका लागि विहीबार मेची प्रादेशीक अस्पताल लगिएको छ । शिक्षक महासंघका नेता पुण्य सुवेदीका अनुसार विहीबार नै बरालको कनकाई माईमा हिन्दू संस्कारबाट दाहसंस्कार गरिने भएको छ ।

बराललाई ठक्कर दिने ट्रक चालक पाँचथर फिदिम नगरपालिका–११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुखानी शहीद स्मृति उद्ययन सालबारीका अध्यक्ष, शनिश्चरे गाविसका पूर्व उपाध्यक्ष, सरस्वति बालकल्याण माविका पूर्व अध्यक्ष, शनिश्चरे मावि व्यवस्थापन समितिका पूर्व सदस्य, झापा जिल्लाका निष्ठावान व्यक्ति, विभिन्न सामाजिक संस्थामा काम गरिसकेका बरालको निधनप्रति अर्जुनधारामात्र होइन झापा जिल्ला स्तब्ध भएको छ ।

स्वर्गीय बरालले शनिश्चरे गाविसका उपाध्यक्ष हुँदा थुप्रै सामाजिक काम गरेको, जनताप्रति गर्नुपर्ने व्यवहारलाई बिर्सन नसक्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले प्रतिक्रिया दिएका छन् ।

उनी नेपाली पत्रकारिताले भोगेको पुस्तक बंकरको प्रशंसक पनि हुन् । लेखक मित्रसेन भट्टराईको घरमा भाडामा बस्दा घरैमा आएर पुस्तक युवा पुस्ताका लागि प्रेरणादायि भएको भन्दै १५ कपि खरीद गरेर लगेका व्यक्ति भएको हुँदा उहाँको दुखद निधनले समाजलाई एउटा इटा उकिएको सरह भएको पत्रकार दिपीन राईले प्रतिक्रिया दिएका छन् ।