अर्जुनधारामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

अर्जुनधारामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै


यलम्वर टाइम्स
२० बैशाख २०८२, शनिबार ०८:३२

अर्जुनधारा । अर्जुनधारा क्षेत्रमा तेक्वान्दो र सितोरियो खेलको बलियो पकड रहेको थियो । त्यसैले जुनसुकै प्रतियोगितामा पनि उपाधी हाँसिल गरेर अर्जुनधाराको शान उच्च राख्दै आएको थियो ।

तर, केही वर्षयता प्रतियोगितात्मक खेल कम भएको कारण चर्चा बटुल्न नसकिरहेको अवस्थामा शुक्रबारबाट अर्जुनधारा नगर तेक्वान्दो समितिको आयोजनामा दुई दिने प्रदेश नं. १ कोशी प्रदेशस्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

अर्जुनधारा नगर खेलकुद विकास समिति सहआयोजक रहेको उक्त प्रतियोगिता पालिकामा तेक्वान्दो खेलको निरन्तरता एवम् स्थानीय खेलाडीको प्रदेशस्तरीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक कुमार भट्टराईले बताए ।

संयोजक भट्टराईका अनुसार प्रतियोगिताअन्र्तगत पुरुषतर्फ ५१ केजी तल, ५४ केजी तल, ५७ केजी तल, ६० केजी तल र ६३ केजी तल, महिलातर्फ ४० केजी तल, ४३ केजी तल, ४६ केजी तल, ४९ केजी तल र ५२ केजी तल तौल समूहमा खेलहरु तथा एकल खुल्ला पुरुष र महिला पुम्से प्रतियोगिता हुँदै गरेको बताए ।

अर्जुनधारा–८ स्थित शनिश्चरे मावि कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र ओखलढुंगाका एक सय जना खेलाडीको सहभागिता हुने छ ।

नेपाल तेक्वान्दो संघ कोशी प्रदेश समितिको प्राविधिक सहयोग रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले नगद पुरस्कार क्रमशः १० हजार, ८ हजार र ५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक भट्टराईको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । उद्घाटनको क्रममा प्रमुख अतिथि पराजुलीले अर्जुनधारा क्षेत्र खेल क्षेत्रको हब भएको हुँदा हरेक खेललाई नगरले प्रोत्साहन दिँदै आएको बताएका छन् ।

कार्यक्रममा खेलाडीहरुका लागि शंकर अस्पतालले मेडिकल सहयोग गरेका थिए । उद्घाटन कार्यक्रममा खेलकुद संयोजक सुरेन्द्र धिमाल, प्रशान्त भण्डारी, सुजन शिवाकोटीको आतिथ्य रहेको थियो ।

खेलमा जुरी हरि भुजेल, जितेन्द्र मेचे रहेका थिए भने रेफ्रीमा निर्मला श्रेष्ठ, जीवन श्रेष्ठ, विवेक राई, लक्ष्मी राजवंशी, होमनाथ दुलाल, रुपक राई, कामना राई र सुरज राई रहेका थिए । कार्यक्रमको सञ्चालन रेडियोकर्मी दीपक ढुंगानाले गरेका थिए ।