अर्जुनधारा । कम्युनिष्ट पार्टीको मुख्य शक्ति किसान महासंघ भएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय उपाध्यक्ष केपी बरालले बताएका छन् ।
३४ औं जुगेडी किसान संघर्ष दिवसमा अर्जुनधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका बरालले त्यसताका पार्टी प्रतिवन्धको समयमा समेत किसान संघबाट पार्टी गतिविधिहरु गर्दै यो परिवर्तन सम्भव भएको बताए ।
उनले शोषकहरु विरुद्ध किसानहरुले संघर्ष गरी विद्रोह गर्दा आजकै दिन चितवनको जुगेडीमा दशरथ चेपाङ र सन्तबहादुर प्रजालाई हत्या गरिएको बताउँदै यो सुखको नभई दुःखको दिन भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाले किसानहरुको त्याग र बलिदानका विषयमा बोल्दै अब विरोधका निम्ति विरोध होइन निर्माणका लागि कार्यक्रमहरु अगाडि सार्दै जानुपर्ने बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) १ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष ताराप्रसाद सुवेदी, कोषाध्यक्ष कल्पना घिमिरे, अनुशासन विभाग प्रमुख दुर्गाबहादुर बुर्जा मगर, केन्द्रीय लेखा संयोजक इश्वरी पाण्डे लगायतले आ–आफ्नो विचार राखेका थिए ।
सोही कार्यक्रमका बीच शहीद परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । जनयुद्धकालमा झापा किसान संघर्ष रहदा शहीद भएका खगेन्द्रप्रसाद दंगाल (अमर)की आमा पवित्रा दंगाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै जनयुद्धकै समयमा शहीद भएका विष्णुमाया र तोयानाथ आचार्यकी आमा तिलरुपा आयार्च र अमरबहादुर डाँगीका बुबा दुर्गाबहादुर डाँगीलाई दोसल्लाले सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि बराल, केन्द्रीय सदस्य राना लगायतले सम्मान गरेका थिए ।
महासंघ अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा किसान महासंघ झापाका संयोजक शंकर सेढाईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रुद्र अधिकारीले गरेका थिए । कार्यक्रममा १ नम्बर प्रदेशका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।