चरा खोज्दै पहाडी जंगलमा देवेन्द्र « Yalambar Times
८ असार २०८२, आईतवार

चरा खोज्दै पहाडी जंगलमा देवेन्द्र


यलम्वर टाइम्स
८ असार २०८२, आईतवार १३:५७

इलाम । आफ्नो जन्मदिनमा बुबा पुण्य खरेलले फेसबुकमा जन्मदिनको शुभकामना छोरा भनेर पोष्ट गरेको केही समयपछि वरिष्ट पत्रकार चन्द्र भण्डारीको शुभकामना कमेन्ट आउँछ, ‘चराको जस्तो मीठो स्वर होस्, आफ्नो कर्मले करोडौं मान्छेको मन जित्न सकोस् ।’

सोही अनुरुप दिनरात चराको विविधतालाई नियाल्दै नयाँ नौलो चरा खोजी हिड्ने देवन्द्र खरेल यो पटक इलामको राँकेको जंगलमा आफ्ना साथीभाईसँग चराचुरुङ्गी खोज्दै गरेको अवस्थामा भेटिए ।

देवेन्द्रसँग शंकर लुइटेल क्षेत्री, नरेश खरेल र सहयोगी निर्मल दाहाल थिए । शंकर हात्ती विशेषज्ञ हुन् भने देवेन्द्र चराचुरुङ्गीमा विशेष दखल राख्ने नागरिक हुन् । नरेश खरेल पनि कुशल फोटो पत्रकार हुन् । उनले खिचेका फोटोहरु चर्चित छन् ।

देवेन्द्र करिब ८ वर्षदेखि चरा अनुसन्धान क्षेत्रमा सक्रिय छन् । उनीसँग कुन चरा कहाँ ठाउँमा पाइन्छ, त्यसको परिचय बारे राम्रो ज्ञान छ । चराको विविधता र त्यसको जानकारी संकलन गर्ने उद्देश्यले पानी झरी नभनी उनी लगायत टिम यो पटक राँके र रक्सेको बीच जंगलमा चरा क्षेत्रमा क्यामेरा तेर्साउँदै गरेको भेटियो । २०७४ सालमा मेचीनगर–७ स्थित मेची चरा तथा वन्यजन्तु संरक्षण समिति बनाए ।

उनले थुप्रै जातका पंन्छीहरुको तस्वीर बजारमा ल्याएका छन् । पूर्वमा रहेर चरा विशेषज्ञको नाम कमाइसकेका देवेन्द्र बहुमूल्य क्यामेरा र लेन्सले एक किलोमिटर परसम्मको चराको तस्वीर लिँदै आफ्नो वालमा पोष्ट गर्छन् ।

पूर्वमा चरा विशेषज्ञको नामले चिनिने देवेन्द्र खरेल नेपालमा थुप्रै लोपोन्मुख चराहरु रहेको बताउँछन् । यो कार्य उनी जीवन्त गरिरहने बताउँछन् ।