बुद्धशान्ति । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए ।
उनले कार्यालय सञ्चालन गर्नु मात्रै ठूलो कुरा नभएर नियमित सञ्चालन गर्नु चुनौती रहेको बताउँदै आगामी दिनमा कार्यालय व्यवस्थापनका लागि वडाले गर्न सक्ने सहयोग गर्ने समेत जनाएका छन् ।
कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल सल्लाहकार सदस्य गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् ।
क्लबले आगामी दिनमा सदस्यको हितमा काम गर्दै विभन्न संघसंस्थासंग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।
सोही अवसरमा संस्थाले सदस्य परिचयपत्र समेत वितरण गरेको थियो । २०७७ सालमा स्थापना भएको प्रेस क्लबले समय समयमा स्थानीय पत्रकारहरुलाई विभिन्न तालिम दिदै आएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । कार्यक्रममा क्लबका अन्य सदस्य एवम् पदाधिकारीरुको समेत उपस्थिति रहेको थियो ।