जिउँदोको मलामी « Yalambar Times
१७ असार २०८२, मंगलवार

जिउँदोको मलामी


यलम्वर टाइम्स
१७ असार २०८२, मंगलवार १७:१२

[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]

केही समयदेखि मेरो मनसपटलमा एउटा कथा प्रशव पीडामा छटपटिरहेको थियो । विषय सानै भए पनि त्यसको अस्तित्व स्वीकार्नै पर्छ । कहिले उखानको विषय लिएर त कहिले प्रत्यक्ष घटनाको साक्षी बनेर । कथा लेख्दा वास्तविक घटनालाई साक्षी राखेर लेख्दा पाठकहरुमा उत्साह थपिन्छ भनेर धेरै सुनेको उखान मध्ये ‘जिउँदोको जन्ती, मर्दाको मलामी’ लाई चरितार्थ हुने विषय कोट्याउँदा सहज लाग्छ तर त्यसको विपरीत ‘बाँच्दाको मलामी’ भन्ने उखान पनि कहिलेकाही व्यवहारमा देखिदो रहेछ । यस विषयमा रुमलिदा कलम चलाउन पनि पहाड फोडेझै भान भएको थियो । तर विषय सुनेर त्यो प्रशवको पीडा सहन गर्न असमर्थ भएँ । धेरै समय लगाएर भए पनि जन्माउने प्रयत्न गरें । कथा छोटो भए पनि पुस्ता दरपुस्ता सुनिदै आएको उखानलाई गलत व्याख्या गर्ने विषय भएर पनि पाठक सामु कथा जन्माउने साहस गरें ।

अन्य कथा झैं यो कथामा पनि एउटा सामान्य परिवारको मूलिको कथा हो । जो आफ्नो परिवार धान्नका निम्ति दश नंग्रा खियाउने बाध्यता थियो । सानो परिवार दैनिकीको रोजगारमा व्यस्त आफ्नो परिवारसँग एकनाशले जीवनको रथ चलिरहेको थियो । सदाझैं दिनभरको मिहेनतको कारण थकित शरीर लिएर घरको दलान टेक्न पुग्यो । श्रीमतीले गिलासमा चिसो पानीले स्वागत गरी । उसले एकै सासमा स्वाट्टै पार्यो । त्यसै बखत साना साना छोराछोरी केही पाउने लालसाले उसलाई दुवैतर्फबाट घेरे । उसले हाँस्दै गोजीबाट चकलेट निकालेर दुवै जनालाई दियो । छोराछोरी प्रफुल्ल मुद्रामा रमाउँदै त्यो चकलेट मुखमा हाल्दै आँगनतर्फ भाग्यो ।

उसको मनमा हर्षको सिरेटो पस्यो । हल्का मुस्कान छर्दै श्रीमती सामु सितनको माग गर्यो । अनि आफू एउटा गिलास लिएर साथमा ल्याएको सोमरसको बोतल खोलेर पिउन बस्यो । आफूलाई चाहिने मात्राभन्दा केही बढी पिए पश्चात शरीरमा एक प्रकारको आनन्दको महशुस गरेपछि खाना खाने सुरसार हुने समयमा अचानक मोवाइल सक्रिय भयो । हेलोको आवाजको वार्तासँगै खबरको आदानप्रदान भयो । सायद अप्रिय घटनाको खबर आयो होला । केही अत्यास लाग्दो भावमा बोल्न थाल्यो ।

‘ला… हो र…? कहिले…? भोलि बिहानै…? ल ल हुन्छ बिहानै हिड्छौं’ भन्दै मोवाइल राखेर श्रीमतीको अनुहार हेर्यो । श्रीमती झन आश्चर्य चकित मुद्रामा ठिङ्ग उभिएर हेरिरह्यो । उसको मनमा कौतुहलताले डेरा जमायो । अन्यौल भावमा श्रीमान छेउ आइन् ।

श्रीमानले दुखीत स्वरमा बतायो, ‘इलामको मामाको मृत्यु भयो अरे !’ खबर सुनेर चिन्तासँगै असमञ्जसमा परी । घरमा मासुभात पाकेको छ, खबर आयो मृत्युको । अब त्यो मासु खाने कि नखाने ? दुविधाका बीच दुवै जनाले सल्लाह गरे ‘आ… खाइदिउँ । त्यति टाढाको कुरा हो । पकाइसकेको खाना कसरी फ्याँक्ने ? ले खाइदिउँ भोलि देखाजाला ।’ केही बेर पश्चात चारै जनाले पाकेको सबै खाएर ओछ्यानतर्फ लम्किए ।

बिहानको ५ बजेको समय हुँदो हो । सायद मेरो मोवाइलमा फोन आयो । आँखा माड्दै मैले फोन उठाएँ । ‘हेलो दाई, म इलाम जाँदैछु, ४–५ दिन लाग्छ होला है ।’

मैले प्रतिप्रश्न गरें, उसले बेलिबिस्तार लगायो । मैले पनि दुखीत मनले हुन्छ भनिदिएँ । उ मेरो साथमा काम गर्ने मान्छे । यस्तो आपतको समयमा बिदा त दिनै पर्यो । फेरि उसको मामा पनि चिनेजानेको मान्छे । उ पनि मेरोमा केही वर्ष काम गरेर इलामतर्फ बसाई सरेर गएको थियो । साह्रै असल मानिस थियो । अचानक उसको मृत्यको खबरले म पनि मर्माहत भएँ । उसको फोटो मेरो मोवाइलमा खोजें । केही बेरको खोजाइ पश्चात एउटा पुरानो फोटो भेटियो र त्यही फोटोमा ‘हार्दिक श्रद्धाञ्जली’ भनेर फेसबुकमा पोष्ट्याँए । मन केही हलुङ्गो भयो । सायद मैले आफ्नो कर्तव्य र ठूलो जिम्मेवारी निभाए जस्तो लाग्यो । परिचित भएको नाताले यतिको जिम्मेवारी निभाउनु पनि ठूलै जिम्मेवारी निभाएँ झै भान भयो ।

दिनभर म आफ्नो कार्यमा व्यस्त रहें । साँझपख म आफ्नो घरको दलानमा टेक्न लाग्दा उ मेरो बरण्डामा बसीरहेको देखें । ओठमा मन्द मुस्कानका साथ मेरो बाटो हरिरहेको थियो । म आश्चर्य मान्दै उसलाई हेरिरहे । उ एकनास मुस्कुराइरहेको थियो । ३(४ दिन बिताएर आउने मान्छे त्यो पनि आफ्नो मामाको मलाम िगएको दुःख पीर त अनुहारमा रत्तिभर थिएन । ‘किन के भयो ? ३(४ दिनको बिदा लिएर जाने मान्छे ? एकै दिनमा फिर्यौ त ?’

‘हैट दाइ, नपाएको दुःख पाइयो नि ! मामाको मलामी भनेर बिहान हतारहतार हिडेको बेकार भयो । जान र आउन मात्र भयो ।’

‘के भएको रहेछ त ?’

त्यस्तो केही घटना भएको होइन रहेछ । मामा बिरामी हुनुहुँदो रहेछ । २(४ दिनको अस्पतालमा उपचार गरेर घर फर्किनुभएको रहेछ । हामी मामाघर पुग्दा त सबै जना घरैमा थिए । मामा पनि सञ्चै हुनुहुन्थ्यो । हामीलाई अचानक त्यहाँ देख्दा मामालाई हेर्न आएछन् भन्ने सोचाइ भएछ । मामामाइजुसँग भलाकुसारी गरियो । भन्दै पेट मिचिमिच हाँस्न थाल्यो ।

‘दाइ ! जीवनमा पहिलो पटक हो यस्तो दोधारे अवस्थामा भएको । सबैलाई वास्तविक कुरा सुनाउ त रिसाउने पो हुन् कि भन्ने पीर नभनौं भने श्रीमतीले कुरा फुस्काउला कि भन्ने पीर । तर पनि इशाराले चुप लाग भन्दै भेटघाटको माहोलमा नै केही समय कटाइयो ।’

‘अनि वास्तविकता नबुझिनै कसले खबर गरेको रहेछ त ? बेकारमा दुःख दिएछन् । यस्तो खबर कसले सुनायो त पत्ता लाग्यो ?’

खोइ दाइ धेरै जनालाई प्रश्न गर्दा पनि पत्तो लागेन । दाइहरुलाई पनि सोधेको कसैले स्वीकारेनन् । गाउँघरतिर पनि सोधपुछ गरेको कही कसैले थाहा छ भनेनन् । जीवनमा यस्तो पनि हुँदो रहेछ दाइ । घरबाट आत्तिएर मलामी हिडेको तर मामा त जिउँदै । आज त जिउँदोको मलामी गए जस्तै भयो । त्यतिभन्दै फेरि पेट मिचिमिची हाँस्न थाल्यो ।

मैले पनि मोवाइल निकालेर बिहान पोष्ट गरेको फोटो हतार हतार डिलिट गरिदिएँ । अहिले आएर आफैलाई आत्माग्लानी भयो । वास्तविक कुरा नबुझि जिउँदो मानिसको फोटोमा श्रद्धाञ्जली चढाएछु । म पनि कस्तो मानिस केही नबुझिनै भावनामा बहकिएर हतारमा के(के नै गरेछु भनेर पुइँकिएछु ।

‘दाइ यस्तो अवस्थामा रुनु कि हाँस्नु ? दोधारमा परें । खुशी मनाउ या शोक मनाउ । जे नहुनु थियो त्यो भयो । समाचार सुनेर थाक्नुपर्ने मन धन्य थाकेन, तर दाइ इलामसम्मको यो खटेरा मोटरसाइकलको यात्राले शरीर चाहि मनग्ये थाक्यो । त्यसैले यो थकान मेटाउने उपाय गर्नुपर्ला कि ?’

उसले मेरो अनुहारमा आशा लाग्दो नजरले हेर्यो । मैले पनि उसको मनसाय बुझें । तर पनि नजानिदो प्रकारले उसलाई प्रश्न तेर्साए, ‘किन के भयो र ?’

‘दाइ खल्ती रित्तियो भनेको क्या ।’

‘तिमीहरुलाई त पिउनको लागि एउटा न एउटा बहाना निस्किहाल्छ नि ?’

‘आ… दाइ पनि यसो हाम्रो पीर मर्का पनि बुझिदिने प्रयास गरिदिनु न हौं । आज म जिउँदो छु र पो तपाईसँग आशा गरेर माग्दैछु । भोलिको कसलाई थाहा छ र ? भोलि म मरेपछि मैले नमागे पनि मेरो बन्द भएको मुखमा एक घुटको रक्सी हालिदिनु हुन्छ । त्यो समयमा तपाईले चढाएको एक घुट्को रक्सी घुटुक्क पारेर निल्न सक्दिन । त्यसैले आजै तपाईलाई मनले जितेर माग्दैछु ।’

‘हैट ! यो भाइ त कस्तो कुरा गर्छ हौं ? यस्तो मर्ने कुरा अहिले नै नगर न हौं । तिमीले अझै मलाई कति साथ दिनुपर्ने छ ।’ त्यति भन्दै मैले पकेटबाट दुइ सय रुपैयाँ उसको हातमा थमाइदिएँ । उ चम्किलो मुहार बनाउँदै त्यो रुपैयाँ समाएर आफ्नो बाटो लाग्यो । तर केही पर पुगेर मतर्फ फर्केर हाँस्दै बोल्यो, ‘दाइ यस पटक कहिले नसोचेको जिउँदोको मलामी गइयो । तर म मरे भने चाहिँ जति व्यस्त भए पनि मलामी चाहिँ आउनु है !’

यति भन्दै उ मेरो नजरबाट ओझेल भयो । म उसलाई परेको कुइनेटोसम्म हेरिरहें । जब उ ओझेल भयो तब म सरासर आफ्नो कोठातर्फ लम्किएँ ।