घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा « Yalambar Times
३१ असार २०८२, मंगलवार

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा


यलम्वर टाइम्स
३१ असार २०८२, मंगलवार १३:४८

झापा । घुस खाएको अडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना खेपेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अन्ततः राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।

केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।

गुप्ता २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए । उनी नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित भएका थिए ।