बिर्तामोड । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ उद्दव पुरीलाई प्रदान गरेको छ ।
बिर्तामोडमा आयोजित ‘डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा दुइ दशकयता झापाली सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकार पुरीलाई नगद रु. ४२ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक–सम्पादक हुन् ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रञ्जीत तामाङ, डी. कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पत्रकार पुरीलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।
सोही अवसरमा प्रेस सेन्टर झापाको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष अभिवृद्धिका लागि सेन्टर प्रदेश आईपी भट्टराईले ५५ हजार ५ सय ५५ रुपैँयाँ प्रदान गरेका थिए । यस्ते अक्षयकोषमा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले ३१ हजार रुपैयाँ प्रदान गरेका थिए । उनीहरु दुवैलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्य राजु पाठकले जनपक्षीय पत्रकार कौडिन्यको जीवनीमाथि चर्चा गर्दै पुरस्कृत व्यक्तित्व पुरीको बिषयमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तामाङ, माओवादी केन्द्र प्रदेश नम्बर–१ का उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपीन राई, देवकुमार आचार्य (डी. कौडिन्य) की धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचीव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईंलगायत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेती र सहसचिव राजन साम्पाङले संयुक्त रुपमा संचालन गरेका थिए ।
प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपीन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कृत गरिसकेको छ ।