अर्जुनधारा धामको आधुनिक सुविधा सम्पन्न भवन प्रदेश सरकारले बनाएरै छाड्ने « Yalambar Times
२२ श्रावण २०८२, बुधबार

अर्जुनधारा धामको आधुनिक सुविधा सम्पन्न भवन प्रदेश सरकारले बनाएरै छाड्ने


यलम्वर टाइम्स
२० श्रावण २०८२, सोमबार १७:३९

अर्जुनधारा । पूर्वको पशुपतिनाथले स्थापित अर्जुनधारा जलेश्वरधामको आधुनिक सुविधा सम्पन्न भवनका लागि प्रदेश सरकारको सधै सहयोग रहने बताइएको छ ।

श्रावणी पर्वको तेस्रो हप्ता अवलोकनसँगै धाम दर्शनका लागि आएका प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले सुविधा सम्पन्न भवन निर्माणका लागि पहिलो पटक ५० लाखभन्दा बढी रकम छुट्याइएको त्यसलाई बहुवर्षीय योजनामा लगेर सम्पन्न गर्न सकिने बताएका छन् ।

धाम समितिसँगको अन्तरसम्वादमा प्रमुख अतिथि हिक्मत कार्कीले ६ दशक पार गरेको यस धामको छुट्टै महिमा भएको बताउँदै महाभारतकालिन कथासँग अर्जुनले वाणा हानेको तथ्य जोडिएको हुँदा स्थानीयदेखि प्रदेश हुँदै संघले समेत यस धामको विकास र उन्नतिमा लाग्नुपर्ने बताए ।

विशिष्ट अतिथि धामका सल्लाहकार तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले धामको स्तरोन्नतिमा स्थानीयवासीको अतुलनीय सहयोग रहेको बताउँदै धाम स्थापित हुनका लागि खडेबाबाको योगदानको विषयमा जानकारी गराएका थिए ।

प्रदेश नं. १ कै प्रशासन विभागका प्रमुखहरुको समेत उपस्थिति रहेको बेला पूर्व मुख्यमन्त्री थापाले सामान्य जलाशय स्थलबाट यहाँसम्म आउन सबैको सहयोग रहेको बताउँदै यस क्षेत्रका मान्यज्यूहरुबाट अझै सहयोग रहनुपर्ने आग्रह गरे ।

आजै प्रदेश सांसद सुशिला भट्टराई कार्कीले घुम्ती शौचालय व्यवस्थापन गरेको धामले जनाएको छ ।

धाम अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्दिरका मूल अर्चक अग्नी सिग्देलले गरेका थिए भने धामलाई आवश्यक पर्ने र हुँदै गरेका विवरण धाम उपाध्यक्ष भिमचन्द्र भट्टराईले जनाए ।

कार्यक्रममा खानेपानी मन्त्री एकराज कार्की, प्रदेश सांसद चिन्तन पाठक, नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, वडा नं. ८ का अध्यक्ष कुमार उप्रेती, ७ का गोविन्द खतिवडा लगायत प्रहरी प्रशासनको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव शिवलाल खतिवडाले गरेका थिए । आजैका दिन वैज्ञानिक महावीर पुनलाई धामले स्वागत गर्दै मन्दिर अवलोकन गराएका थिए ।

धामका कोषाध्यक्ष मनोज जोशीले वैज्ञानिक पुनलाई धामको अवस्थाबारे जानकारी गराएका थिए भने सनातनी धर्मका अग्रजहरुले महावीर पुनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।