पितृसँग सम्बन्ध रहेको वाबुक र फेटा मुन्दुम अनुसार प्रयोग गरौंः यायोक्खा कलाकार « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

पितृसँग सम्बन्ध रहेको वाबुक र फेटा मुन्दुम अनुसार प्रयोग गरौंः यायोक्खा कलाकार


यलम्वर टाइम्स
८ जेष्ठ २०८१, मंगलवार ०९:१५

झिलझिले । किराँत राईहरुले प्रयोग गर्दै आएको भेषभुषा वा पहिरनमा कम्मरदेखि मुनी वाबुक (चिन्डो) झल्कने चिन्ह नराख्न किराँत राई सांस्कृतिक कलाकार संघले आग्रह गरेको छ ।

किराँत मुन्दुम अनुसार पितृहरुले वाबुकले चढाएको पानी, रक्सी, जाँड लगायत अन्नबाली मात्र स्वतः लिने मान्यता रहेकोले कम्मर मुनी वाबुक चिन्ह राखे सम्पूर्ण पितृहरुको अपमान हुने भन्दै फेसनको नाममा यस्तो नगर्न आग्रह गरिएको थियो ।

वाबुक पृथ्वीको उत्पत्तिसँगै लहराको रुपमा आएको र त्यसकै अर्को हाँगामा कुविन्डो पनि रहेको तर कुविन्डो चाहिँ कुहिएर काल जस्तो मृत्युको प्रतिक भएको मुन्धुममा उल्लेख छ । यता चिन्डो भने किराँत मुन्दुम अनुसार पूर्खासँग सोझै जोडिने भएकाले मौलिक जातीय भेषभुषाको तल्लो भागमा प्रयोग गर्न नहुने बताइएको हो ।

सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष सालिक सतासक राईले आउँदै गरेको उभौली पर्वका विषयमा उपस्थित यायोक्खा आवद्धहरुलाई जीवन दर्शन, साकेला सिली र मौलिक बाजाको प्रयोग, चिन्डो, फेटा पगरीका विषयमा अवगत गराएका थिए ।

विशेष अतिथि समेत रहेका सतासकले जहाँ पायो त्यही, जसलाई पायो त्यसलाई पगरी लगाइदिन पनि नहुने बताउँदै मुन्दुम दर्शन अनुसार अग्रज, विशेष व्यक्तित्व निर्माण गरेकालाई मात्र फेटा गुत्थने चलन रहेको सुनाए ।

उनले किराँत सम्बन्धि इतिहास कोट्याउँदै कालान्तरमा दोलखाका किराँती राजा बुधाहाङले युद्ध हारेपछि उनको शीर झुकेको थियो । उनको चेली सोइसोइलाले फेटा गुथेर शीर उठाइदिएको बताए ।

सोही परम्परा अनुसार आज पनि हुँदा जुन घर वा माङखिममा ढोल नाचिन्छ त्यति बेला त्यस घरका मूली र विशिष्ट व्यक्तिहरुलाई फेटा गुथ्दै सोइसोइला भनेर साकेला नाच्दा शीर उठ्ने र शुब्बेफाप्पे हुने बताए ।

सोमबार झापाको झिलझिले स्थित किराँत राई सांस्कृतिक कलाकार संघ झापाको आयोजनामा भएको किराँती मौलिक पहिचान साकेला सिली, भेषभुषा, बाजागाजा सम्बन्धित अन्तरक्रियामा प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष युवराज राईले सांस्कृतिक आन्दोलन पहिचानको मेरुदण्ड भएको हुँदा किराँत मुन्दुमलाई अक्षरस पालना गर्न सके पितृको आशिर्वाद हुने बताए ।

उनले अगाडि भने, किराँतीहरुको जीवन दर्शन मुन्दुम एक मात्र शक्ति भएको हुँदा मुन्दुम प्रति अध्ययन गर्दै पूर्खाले सुम्पिएको अस्तित्वलाई जोगाउनु हामी सबैको कर्तव्य भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा अग्रज पत्रकार दिपीन राईले पूर्वमा किराँत सभ्यता र पहिचान माथि हुँदै आएको आक्रमण एकता नहुँदाको प्रतिफल भएको टिप्पणी गरे ।

खुवालुङ, मुकुम्लुङ आक्रमण गर्नु किराँत सभ्यतामाथिको ठाडो आक्रमण हो । यसलाई जोगाइराख्न मुन्दुम अध्ययन आवश्यक छ र सांगठानिक रुपमा पनि एकता हुन जरुरी रहेको राईले बताए ।

सोही कार्यक्रममा किराँत राई विद्यार्थी संघ झापाका अध्यक्ष राजु के राई, यायोक्खाका जिल्ला सदस्य हर्कराज खालिङ, जीवन राई आदिले आ–आफ्नो भनाइ राखेका थिए ।

सांस्कृतिक कलाकार संघ झापाका अध्यक्ष पर्शुराम रिङ्गाली राईको सभापतित्वमा भएको कार्यक्रममा अनिलकला राई, कुमार खालिङ राई, मिलन राई, कमला राई, सृजनकुमार राई, किशोर राई, लक्ष्मी राई, निरु राई र आन्शा फेन्देल लगायतको आतिथ्य रहेको थियो ।