फक्ताङलुङ आइडल–२ का लागि १९ जना छनौंट « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

फक्ताङलुङ आइडल–२ का लागि १९ जना छनौंट


यलम्वर टाइम्स
१७ भाद्र २०७४, शनिबार ०६:०९

पाँचथर / फक्ताङलुङ सयङले आयोजना गरेको लिम्बू गीत गायन प्रतियोगिता फक्ताङलुङ आइडल सेक्फुङ–२, को दोस्रो चरणको अडिशनका लागि पाँचथरबाट १९ प्रतिश्पर्धि छानिएका छन् ।

बिहीबार साँझ फिदिममा सम्पन्न अडिशनबाट २८ प्रतिश्पर्धीमध्ये दोस्रो चरणको लागि १९ जना छानिएको सयङका अध्यक्ष भवानी बिक्रम सम्बाहाम्फेले बताए । दोस्रो चरणको लागि पाँचथरबाट छानिने प्रतिश्पर्धीहरुमा विष्णु कुमार श्रेष्ठ, काजिमान माबो, फूलमाया लोवा, मन कुमार केरुङ, मनिमन्त्र सावादेन, धनमाया इजम, तिर्सना नेम्बाङ, युवेश सुहाङ, पेमहाङ लिम्बू, लोकेन्द्र लिम्बू रहेका छन् ।

त्यस्तै हेमराज लिम्बू, मिजिरा सम्बाहाम्फे, नुफुङ्वा तुम्बापो, डिगम कुरुम्बाङ, प्रत्युश कुरुम्बाङ, ललिता सावादेन, रञ्जित लिम्बू, खड्क केरुङ र विश्व कुमार तुम्बापो पनि दोस्रो चरणको अडिशनका लागि छनौंट भएका छन् । फिदिम स्थित होटल सरगमको सभाहलमा सम्पन्न अडिशनमा लिम्बू गीतकार तथा लिम्बू गीत–संगीतका जानकार यासेली योङहाङ, संगीतकार बुद्धराज लिम्बू र लिम्बू गीतकार सागर केरुङले निर्णायकको रुपमा रहेका थिए ।

अडिशनमा सहभागि सबैलाई एउटा अहिले चलिरहेको लिम्बू गीत र पालाम, ख्याली, हाक्पारे लगायत लिम्बू छन्द तथा लोकलयमध्ये कुनै एउटा गीत गाउँन लगाइएको थियो । आइडलको लागि यसअघि काठमाण्डौं, भक्तपुर र ललितपुरबाट १२ र ताप्लेजुङबाट आठ प्रतिश्पर्धी दोस्रो चरणको लागि छनौंट भइसकेको आयोजक संस्थाका महासचिव कञ्चन थलङले बताए ।

अब इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुम जिल्लामा पहिलो चरणको अडिशन सम्पन्न गरे पश्चात दोस्रो चरणको अडिशन धरानमा गरिने थलङले बताए । आगामी चासोक तङनामका काठमान्डौंमा हुने प्रतियोगिताको फाइनल अडिशनबाट प्रथम हुनेलाई नगद एक लाख, तीन वटा गीत रेकर्ड साथै एउटा विदेश भ्रमणको अवशर प्रदान गरिनेछ । त्यस्तै द्धितिय हुनेलाई नगद ५० हजार र त्रितिय हुनेलाई नगद २५ हजार प्रदान गरिने बताइएको छ । फक्ताङलुङ सयङले मौलिक लिम्बू गीत–संगीतको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।