बिर्तामोडमा चन्दाको एकल सांगीतिक साँझ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

बिर्तामोडमा चन्दाको एकल सांगीतिक साँझ


यलम्वर टाइम्स
२१ आश्विन २०७४, शनिबार ०२:१८

गायन क्षेत्रमा आफ्नो नाम उचाईमा राख्न सफल झापाकी चेली चन्दा देवानले असोज २८ गते बिर्तामोडको अतिथि सदनमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।

शनिश्चरे माध्यमिक विद्यालयबाट २०३८ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुको समूहले विद्यालयको स्तर उन्नतिको लागि टेवा पुगोस् भनी उक्त एकल सांगीतिक साँझ गर्न लागिएको बताइएको हो । त्यसको आयोजक ‘हामी ०३८ से’ रहेको छ । विद्यालयको भौतिक पूर्वाधार सुधार सहयोगार्थ जुटोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

अर्जुनधारा नगरपालिका–७ निवासी चन्दा विगत दुई दशक अघिबाट सांगीतिक तथा गायन क्षेत्रमा उदाएकी हुन् । उनले केही दिन अघि ‘वाचा’ नामको एल्वम् पनि बजारमा ल्याएकी छिन् । ‘खुल्दैछ लुकेको माला…,’ ‘तिम्रो कथा सुन्दा सुन्दै मेरो मुटु रेटिएछ…,’ ‘डम्फुको सेलो सुनिरहुँ जस्तो…,’ ‘खरको छानो किन नहोस्…’ ‘लगायतका गीतहरु पस्किने भएकी छिन् ।’

केही दिन अघि शनिश्चरे माध्यमिक विद्यालयले आयोजना गरेको भूपू विद्यार्थी भेलामा विद्यालयको स्तर उन्नतिको लागि कसरी गर्न सकिन्छ भन्ने छलफल भएपछि ०३८ सालमा एसएलसी पास गर्ने समूहले एकल साँझ राखेर उठेको रकम विद्यालयलाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको संयोजक शेखर प्रधानले बताए ।

यस अघि ०४९ ग्रुपले विद्यालयको उन्नतिको लागि केही सामग्री खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिसकेको छ ।