मेची नेत्रालयबाट बाहुनडाँगीमा निःशुल्क आँखा शिविर सञ्चालन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

मेची नेत्रालयबाट बाहुनडाँगीमा निःशुल्क आँखा शिविर सञ्चालन


यलम्वर टाइम्स
२८ आश्विन २०७४, शनिबार ०६:१९

बाहुनडाँगी । मेची नेत्रालयले ‘झापाको पहाड’ भनेर चिनिदै आएको बाहुनडाँगीमा निःशुल्क आँखा उपचार सेवा सुरु गरेको छ ।

बाहुनडाँगी स्वास्थ्य चौकीसँगको सहकार्यमा नेत्रालयले चौकीबाटै उपचार सेवा थालेको हो । सरकारी स्वास्थ्य निकायसँगको सहकार्यमा निजी क्षेत्रको हस्पिटलले सर्वसाधारणका लागि सरकारी सेवा सरह उपचार निःशुल्क रुपमा उपलब्ध गराएको यो पहिलो हो । विहीवार स्वास्थ्य चौकी र मेची नेत्रालयविच सम्झौता पत्र आदानप्रदान पश्चात सेवाको थालनी गरिएको छ ।

मेची नेत्रालयका डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले ३५ हजार जनसङ्ख्याको बसोबास रहेको बाहुनडाँगीबासीलाई आफ्नै घर आँगनमा उपचार सुविधा पुगोस् भनेर सेवा सुरु गरिएको बताए । स्वास्थ्य चौकी इञ्चार्ज अजय विकले चौकीकै्र एउटा कोठालाई व्यवस्थित गरेर आँखाको उपचार गर्न थालिएको बताए । उनले आँखा जाँच र औषधि निःशुल्क हुने बताए ।

काँकरभिट्टामा अत्याधुनिक हस्पिटल सञ्चालन गरिरहेकोे मेची नेत्रालयका डाइरेक्टर डा. राईले थप उपचार र आँखाको अपरेसनका लागि बाहुनडाँगीबाट रेफर भएर जाने ज्येष्ठ नागरिकहरुका लागि २० प्रतिशत र सबैका लागि १० प्रतिशत छुट दिइने घोषणा गरेका छन् ।

बाहुनडाँगीमा सरकारी निकायसँग मिलेर निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्ने कार्यको पहल मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष एवम् बाहुनडाँगी स्वास्थ्य चौकीका अध्यक्ष निरज बरालले गरेका हुन् । वडाध्यक्ष बरालले सेवा उद्घाटन अवसरमा बोल्दै बाहुनडाँगीबासीलाई राहत पुगोस् भनेर गाउँघरमै यस्तो निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

हाललाई हप्तामा एक दिन अर्थात हरेक विहीवार बाहुनडाँगीमा आँखा उपचार शिविर सञ्चालनमा ल्याइने र विरामीको चाप बढेका हप्तामा दुई दिनसम्म पनि सेवा प्रदान गर्न आफुहरु तयार रहेको हस्पिटल पक्षले जनाएको छ । नेत्रालयले बाहुनडाँगीमा उपचार सेवा सञ्चालनका लागि एक जना सिनियर अफ्थाल्मिक स्वास्थ्यकर्मी सहितको टोली परिचालन गर्ने भएको छ । उपचारको पुर्जी काट्दा, जाँच गर्दा र औषधि लिँदा त्यहाँ कुनै शुल्क तिर्नु पर्ने छैन ।

विहीवार मेचीनगर–४ की ७६ वर्षीया भगिरथा आचार्यले आँखा उपचारको पहिलो सेवा लिएकी थिइन् । वडाध्यक्ष बरालको अध्यक्षता, स्वास्थ्य चौकीका इञ्चार्ज विकको सञ्चालन र नेत्रालयका निर्देशक डा. राई, नेत्रालयका व्यवस्थापक नवराज प्रधान र समाजसेवी निरज घिमिरेको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा दर्जनौँ स्थानीयबासी र स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

पहिलो दिन ५६ जनाले उपचार सेवा लिएकोमा १२ जनाको आँखाको अपरेशन गर्नु पर्ने देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । ७६ वर्षदेखि १२ बर्षसम्मका सर्वसाधारण उपचारका लागि आएका थिए ।