बिएण्डसीमा पाँच जटिल रोगको सफल शल्यक्रिया « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

बिएण्डसीमा पाँच जटिल रोगको सफल शल्यक्रिया


यलम्वर टाइम्स
७ कार्तिक २०७४, मंगलवार ०९:२९

बिर्तामोड । झापा बिर्तामोडको बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा पछिल्लो पटक पाँच जटिल रोगको उच्च प्रविधिबाट शल्यक्रिया गरिएको छ ।

बिएण्डसीको नियमित पत्रकार भेटघाटमा प्वाल पारेर पाठेघरको शल्यक्रिया, आन्द्रा फुटेको शल्यक्रिया, मिर्गौलाको क्यान्सरको शल्यक्रिया, छुरीले हान्दा आमाशयलगायत आन्द्रा फुटेको शल्यक्रिया र पित्तथैलीमा रहेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको जानकारी दिइएको हो ।

शल्यक्रियामा सहभागी डा. रोहित यादवका अनुसार बिर्तामोडकी ४२ वर्षीया मनमाया राईको पाठेघरको शल्यक्रिया प्वाल पारेर गरिएको हो । उनका अनुसार यो शल्यक्रिया यहाँ दोस्रो पटक हो । सानो प्वाल पारेर गरिने शल्यक्रिया जोखिम नहुने र घाउ चाँडो निको हुने डाक्टरको भनाइ छ ।

त्यस्तै, कुमरखोदका १७ वर्षीय रमेश धमलाको पनि प्वाल पारेर आन्द्रा फुटेको शल्यक्रिया गरिएको छ । मेलामा भएको झगडामा उनलाई साथीले छुरा प्रहार गर्दा आन्द्रा फुटेको थियो । उनको छुरा प्रहारबाट आन्द्रा, आमाशय, प्यानक्रियाज, रगतको नशा र मिर्गौलामा चोट लागेको डा. यादवले बताए ।

त्यस्तै, ग्यास्ट्रिक बिग्रिएर अल्सर भएका सुरुङ्गाका होमप्रसाद थपलियाको पनि सफल शल्यक्रिया भएको छ । ५२ वर्षीय थपलियालाई पेट अत्यधिक पोलेपछि उनी अस्पताल भर्ना भएका थिए । चिकित्सकका अनुसार उनको अल्सरका कारण आन्द्रा फुटेको थियो ।

बिएण्डसीमै पित्त थैलीमा भएको एपेन्डिसाइटिसको पनि उपचार भएको छ । गरामनीका विष्णुप्रसाद भट्टराईको शल्यक्रिया गरिएको हो ।
त्यस्तै, बिर्तामोडका भर्तबहादुर श्रेष्ठको मिर्गौलामा भएको क्यान्सरको पनि सफल उपचार भएको छ । मिर्गौलाको क्यान्सरको बिएण्डसीमा शल्यक्रिया गरिएको तेस्रो पटक गरिएको चिकित्सकले बताए ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंका अनुसार ओलम्पस, स्ट्राइकर र कोभाडिएन कम्पनीका प्रविधि बिएण्डसीले भित्र्याएको हो । उनले भारतको सिलिगुडीले नसकेको ब्रेन ट्युमरको अपरेसन पनि बिएण्डसीमा १३ घण्टामा सफल उपचार भएको दाबी गरे ।
‘पाँच वर्षभित्र मुटुको ट्रान्सप्लान्ट गरेरै छाड्ने हिम्मत जुटाएको छु’, उनले भने, ‘हरेक चुनौती सामना गर्न तयार छौँ, मेचीबासीको विश्वास जितेरै छाड्छौँ ।’

यी जटिल पाँच शल्यक्रियामा डा. यादवसहित डा. विरेन्द्रं यादव, डा. प्रियंका कटुवाल, डा. स्मृति जोशी, डा. रविनलगायतको टिम रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।