कनकाई अस्पतालमा घुँडाको जोर्नीको सफल प्रत्यारोपण « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

कनकाई अस्पतालमा घुँडाको जोर्नीको सफल प्रत्यारोपण


यलम्वर टाइम्स
१८ पुष २०७४, मंगलवार १०:३९

बिर्तामोड । एक दशक अघिदेखि बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटलले आफ्नै उपकरण र जनशक्तिबाट घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरेको जनाएको छ ।

हस्पिटलले पत्रकार सम्मेलन गरी एक ६० वर्षीया बृद्धको दुवै जोर्नीको सफल प्रत्यारोपण भएको जनाएको हो । अर्थोपेडिक सर्जन तथा हस्पिटल डाइरेक्टर डा. प्रेमबहादुर शाहीले बुद्धशान्ति गाउँपालिका–४ कि नरमाया भुजेलको दुवै घुँडाको जोर्नीको प्रत्यारोपण गरिएको बताए ।

कम्मरमुनिको भागमा पीडा भएपछि बिर्तामोडकै बिर्ता सिटीमा उपचारका लागि लैजाँदा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नरमायालाई रेफर गरिएको थियो । तर, वीपीमा पनि करिब डेढ महिनासम्म पनि उपचार गर्न त्यहाँका चिकित्सक तयार नभएको बिरामीका ज्वाइँ नरबहादुर भुजेलले बताए ।

दुवै घुँडा सुन्निएको अवस्थामा कनकाई हस्पिटल ल्याइएकी नरमायाको घुँडामा मेटालिक डिजाइनको जोर्नी प्रत्यारोपण गरिएको चिकित्सकले बताए । उपचारपछि डिस्चार्ज हुन लागेकी नरमायालाई हस्पिटलको तर्फबाट एक लाखबराबर छुट दिइएको हस्पिटलका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । चेक पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो ।

मेची अञ्चलमै पहिलोपटक स्पाइनल सर्जरी सुरु गरेको हस्पिटलले यसअघि हात र खुट्टामा भएको ट्युमरको पनि सफल शल्यक्रिया गरी पुरानो अवस्थामा ल्याइसकेको उनले दाबी गरे । यसैबीच, हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ५० देखि १०० शैय्याको टूमा सेन्टर निर्माण गर्न लागेको जनाएको छ ।

बुट्टाबारीमा निर्माण गरिने टूमा सेन्टर चार वर्षभित्र सञ्चालनमा आउने हस्पिटलका डाइरेक्टर डा. शाहीको भनाइ छ ।