उत्पादित वस्तुको गुणस्तरमा कन्जुस्याँईं गरिनु हुन्नः मन्त्रि प्रसाई « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

उत्पादित वस्तुको गुणस्तरमा कन्जुस्याँईं गरिनु हुन्नः मन्त्रि प्रसाई


यलम्वर टाइम्स
४ माघ २०७४, बिहीबार १२:०९

अर्जुनधारा । कृषिलाई व्यवसायीक रुप दिँदै दूग्ध उत्पादन व्यवसाय सम्बद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको पूर्वाध डेरी उद्योगको विहीबार उद्घाटन गर्दै कृषि राज्यमन्त्रि माननीय सरिता प्रसाईले मुलुकको भविष्य कृषि क्षेत्रमा भएको बताएकी छिन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी मन्त्रि प्रसाईले किसानको उन्नति र प्रगतिको लागि नेपाल सरकारले धेरै काम गर्दै आएको बताउँदै अब मुलुकको परिवर्तन कृषिबाट मात्र हुने बताइन् । मन्त्रि प्रसाईले झापामा कृषि क्षेत्रमा के कति काम भएको छ भनी जिल्लाका अधिकांश स्थानको अनुगमन गरिसकेको बताउँदै झापा जिल्लालाई सुपारी जोनको रुपमा घोषणा गरिएको समेत बताइन् ।

नेपाल सरकारले कृषि पेशामा आश्रित नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुर्याउन खाल्का विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै जनताले पनि कृषक हितका लागि के कस्ता योजना कार्यान्वयनमा ल्याएको छ भनी खोज्नुपर्ने बताइन् । कार्यक्रममा मन्त्रि प्रसाईले ग्रामिण क्षेत्रमा रहेर उद्योग सञ्चालन गरी कृषकहरुको सारथी बनेकोमा शुभकामना दिँदै उत्पादकले उत्पादित वस्तुको गुणस्तरमा कन्जुस्याँई गर्न नहुने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि तथा प्याक्टका निर्देशक डा. गोविन्दप्रसाद शर्माले कृषकहरुलाई व्यवसायीक रुपमा अघि बढाउन र रोजगारीको अवस्था सृजना गर्ने मुख्य उद्देश्यका साथ डेरी उद्योग स्थापना भएको बताएका छन् । डा. शर्माले बजारमा पूर्ण प्रतिस्पर्धा रहेको हुँदा उत्कृष्ट र गुणस्तरीय वस्तु उत्पादन गर्दै ग्राहकको मन जित्न अग्रसर रहनु पर्ने बताए ।

कार्यक्रममा पूर्वाधका अध्यक्ष कमल भण्डारीले डेरीका बारेमा प्रकाश पार्दै उद्योगबाट तत्काल दूध, दहि, घ्यू, पनिरको उत्पादन हुने बताए । उनले १ करोड ५५ हजार ५ सय ६७ संस्थाबाट र ९९ लाख ८८ हजार प्याक्टको अनुदान गरी २ करोड ४३ लाख ५ सय ६७ रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको बताउँदै उद्योगको स्थापनाबाट यस क्षेत्रका कृषकहरुले दूधको उचित मूल्य पाउनुका साथै पशुपालन तर्फ आकर्षित हुने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, वरिष्ट कृषि विकास अधिकृत रामबाबु अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने वरिष्ट अनुगमन तथा मुल्याङ्कन अधिकृत प्रकाशकुमार डाँगी, डिभिजन सिचाई कार्यालयका प्रमुख भानुभक्त मैनाली लगायतको आतिथ्य रहेको थियो । संस्थाका सदस्य सन्तनु ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोविन्द खतिवडाले गरेका थिए ।

उद्योगबाट उत्पादित दूधको मूल्य प्रति प्याकेट ३५ रुपैयाँ, दहिको प्रति प्याकेट ४० रुपैयाँ, घ्यू प्रति केजी ७०० रुपैयाँ र पनिर प्रति केजी ५४० रुपैयाँ रहेको बजार व्यवस्थापक हिमाल बजगाईंले बताए ।