नगरले ज्येष्ठलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

नगरले ज्येष्ठलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने


यलम्वर टाइम्स
१२ जेष्ठ २०७५, शनिबार ०२:५५

अर्जुनधारा । सामाजिक सुरक्षाको सुविधा लिँदै आएका ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले स्वास्थ्य सेवा पनि निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रममार्फत ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिएको हो ।

नगरबासीको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्दै राज्यको दायित्व पूरा गर्ने लक्ष्यले सेवा सुरु गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । उनले भने, ‘नगरको समृद्धि विकास निर्माण मात्र होइन, नगरबासीको गाँस, बास र कपाससँगै स्वास्थ्य पनि महत्वपूर्ण हो ।’

कार्यक्रममा प्रमुख रानाले ज्येष्ठ नागरिक समाज अर्जुनधाराका अध्यक्ष रामप्रसाद भट्टराईलाई स्वास्थ्य कार्ड प्रदान गरेर शुभाराम्भ गरे । अर्जुनधारा क्षेत्रमा करिब ३ हजार जना ज्येष्ठ नागरिक रहेको आँकलन गरिएको छ । यकिन तथ्यांक जेठ महिनाभित्र निकाल्ने तयारी नगरको स्वास्थ्य शाखाले गरेको प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार सुगर र प्रेसरका रोगी भएका ज्येष्ठ नागरिकलाई शाखाले शनिश्चरे स्वास्थ्या चौकी, अर्जुनधारा र खुदुनाबारी हेल्थ पोस्टबाट सेवा प्रदान गर्नेछ ।

‘सामाजिक सुरक्षा भत्ता लिए पनि सामान्य औषधि किनेर खाने अवस्था नभएका ज्येष्ठ नागरिकलाई हामीले लक्षित गरेका हौँ’, उनले भने, ‘नियमित औषधि सेवन नगर्दा हुने जोखिमलाई मध्यनजर गरेर सम्भावित दुर्घटनाबाट बचाउनु हाम्रो उद्देश्य हो ।’ सकेसम्म वडा कार्यालयबाट सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउने नगरको दाबी छ ।

प्रेसरका बिरामीले जाँच गर्न सकून् र सुगरका बिरामीले कम्तिमा महिनामा एकपल्ट रगत परीक्षण गर्न सके सम्भावित दुर्घटनाबाट बच्न सकिने उनको भनाइ छ ।

सुगरका कारण मिर्गौला बिग्रने, आँखाको ज्योति जाने गर्छ भने प्रेसरले प्यारालाइसिस र हृदयघात जस्ता ज्यानै जाने र अपाङ्गता बनाउने जोखिम हुने गरेको उनले बताए ।

कार्यक्रम सम्पन्न गर्नका लागि यसवर्ष नगरपालिकाले ११ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जसमा १० लाखको औषधि खरिद र १ लाख ५० हजार शिविर सञ्चालन, प्रचारप्रसारका लागि छुट्याइएको छ ।

नगरकी उपप्रमुख कमला आचार्य खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रदेश सांसद बृख प्रधानले राज्यले दिने सेवा सुविधाप्रति जनताले विश्वास गर्न नसकेको भन्दै सेवा सुविधा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।