नगरको समृद्धि कृषि, पर्यटन र शिक्षाबाट सम्भव : प्रमुख राना « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नगरको समृद्धि कृषि, पर्यटन र शिक्षाबाट सम्भव : प्रमुख राना


यलम्वर टाइम्स
१३ श्रावण २०७५, आईतवार ०८:२१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार नगर सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख रानाले चालु आर्थिक वर्षका लागि चालु खर्च ७ करोड ४४ लाख ९५ हजार, पुँजीगत २२ करोड ३४ लाख ८६ हजार, सर्शत अनुदान १६ करोड २७ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम/सडक बोर्ड नेपाल ५२ लाख र सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ गरी जम्मा ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।

‘हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री शहर’ भन्ने मूल नाराका साथ आयोजित पत्रकार सम्मेलनमा उक्त बजेटको आम्दानीका लागि वित्तीय समानिकरण अनुदानबाट १५ करोड ८८ लाख ५६ हजार रुपैयाँ, राजश्व बाँडफाँड संघीय सरकार (केन्द्रिय)बाट ९ करोड, ५० लाख ७० हजार रुपैयाँ, सशर्त अनुदानबाट १६ करोड, २७ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानमा ४२ लाख १९ हजार, राजश्वर बाँडफाँडबाट १ करोड ४८ लाख ३६ हजार रुपैयाँ, आन्तरिक आयबाट २ करोड ५० लाख रुपैयाँ, ज्येष्ठ नागरिक दीर्घ सम्मान तथा सामाजिक सुरक्षा भत्ताबाट १२ करोड, सडक बोर्डबाट ३५ लाख र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले अर्जुनधारा नगरको समृद्धि कृषि, पर्यटन र शिक्षा क्षेत्रबाटै सम्भव हुने बताए । उनले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषकहरुसँग अन्तरक्रियासँगै नगरलाई विषादीमुक्त बनाउन पहल गर्दै आएको बताए ।

प्रमुख रानाले अर्जुनधारा क्षेत्र पर्यटनको दृष्टिले पनि सम्पन्न भएको बताए । उनले भने, ‘हामीसँग पूर्वकै पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा धाम छ । पञ्चायतको निरङ्कुश शासन विरुद्ध लडेर शहीदहरुले सहादत्त प्राप्त गरेको स्थल छ । सामुदायिक वन मात्रै ८ वटा छन् । यिनीहरुलाई व्यवस्थित गर्दै लैजाने छौं ।’

शिक्षा क्षेत्रमा पनि नगरले आफ्नो ध्यान केन्द्रीत गरेको प्रमुख रानाले बताएका छन् । प्रमुख रानाले अर्जुनधारा क्षेत्रमा एक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत इन्जिनीयरिङको पठनपाठन हुँदै आएको बताउँदै प्राविधिक शिक्षालाई अझ सशक्त बनाउन भेटनरी शिक्षा, कृषि विज्ञान जस्ता अन्य प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने बताए ।

वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारी, वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, बोर्ड सदस्य रमेश त्रिखत्री, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमले दोस्रो नगर सभाले गरेका निर्णय र नगर प्रवक्ता सकुन्तला बरालले साउन १२ गतेको नगर कार्यपालिका बैंठकबाट पारित निर्णयबारे जानकारी दिएकी थिइन् ।