नगरमा डायलिसिस मेसिन ल्याउन मृगौला पीडितहरुको माग « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

नगरमा डायलिसिस मेसिन ल्याउन मृगौला पीडितहरुको माग


यलम्वर टाइम्स
९ बैशाख २०७६, सोमबार १०:५२

मृगौला रोगबाट ग्रसित महेन्द्रप्रसाद बराल ।

अर्जुनधारा । नगरका मृगौला पीडित बिरामीहरुले नगरमै डायलिसिस मेसिन खरिद गरि सेवा प्रदान गर्न माग गरेका छन् ।

स्थानीय सरकारले नसर्ने रोगमध्ये मृगौला पीडितलाई एक लाख रुपैयाँको सिफारिससँगै नगद १० हजार दिनुभन्दा नगरमै डायलिसिस मेसिन खरिद गर्नु उपयुक्त हुने बताए ।

विगत ५ वर्षअघिबाट मृगौला रोग लागि डायलिसिस गर्दै आएका अर्जुनधारा–१ का ४३ वर्षीय महेन्द्रप्रसाद बरालले राज्यबाट प्रत्येक स्थानीय तहमा मेसिन खरिद गरे उपयुक्त हुने बताए ।

उनी बिरामी भएको समयमा महिनामा एक–दुइ जना मृगौला रोगी देखिन्थ्ये भने अहिले प्रत्येक दिन मृगौला खराब भएको रोगीहरुको संख्या बढ्दै गएको कारण स्थानीय सरकारले डायलिसिस मेसिन खरिद गरेर सेवा प्रदान गर्नु उपयुक्त हुने सुझाव दिए ।

उनका अनुसार अर्जुनधारामा युवा, वृद्ध गरी ४० भन्दा बढी मृगौला पीडितहरुको जमात छ । सुरु–सुरुमा यो रोग लाग्दा मरिन्छ कि ! भन्ने हुन्थ्यो । खानपान र परेजमा बसेर डायलिसिस गर्दा डराउनु नपर्ने उनले बताए ।

पीडित बरालका अनुसार आफू सामाजिक अभियान्ता हुँ खानपान बार्छु । सामाजिक काममा खटिरहेको छु । मुख्य विषय खानपान नै हो । त्यसबाट बचेर डायलिसिस गर्दै बसे बाँच्न सकिदो रहेछ ।

बरालका दुइ छोरा, श्रीमती र आमासँगै बस्दै आएका छन् । हप्तामा ३ पटक डायलिसिस गरे पनि उनी दिउँसो सामाजिक काममा व्यस्त हुन्छन् ।

डायलिसिस मेसिन नगरले ल्याउने योजना

गाँस, बास, शिक्षा र स्वास्थ्य सरकारको पहिलो योजना भएको हुँदा नगरवासीको स्वास्थ्य सुरक्षाको लागि कुनै पनि कसुर बाँकी नराख्ने नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।

अर्जुनधारा नगरले वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैय्याको अस्पताल निर्माण गरेर जाने प्रतिवद्धताका साथ अगाडि बढिरहेको बेला त्यही अस्पतालमा नसर्ने रोगहरुको उपचारका लागि उपकरण खरिद गर्ने बताए ।

नगरको चौथो साधारणमा पनि डायलिसिस मेसिनसँगै अन्य सामग्री खरिद गर्ने आवाज उठेको थियो । अस्पताल सुरुसँगै उक्त मेसिन पनि खरिद गर्ने जानकारी दिए ।