पाहुना टोली सिक्किम अन्नपूर्ण गोल्डकपको अन्तिम चारमा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

पाहुना टोली सिक्किम अन्नपूर्ण गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
१८ कार्तिक २०७६, सोमबार १२:५९

बिर्तामोड । भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गर्यो भने बेलबारीले एक गोलमात्र थप्यो ।

युवा खेलाडीले भरिएको बेलबारी एफसीको छरितो खेलमा सुरुवातको एक मिनेटमै गोल गरेर अग्रता लिएको थियो । उसका लागि किरण लिम्बूले गोल गरेका थिए ।

पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा केही फरक समयमा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए ।

त्यसको तीन मिनेट नबित्दै उनैले थप गोल गरेर अग्रता दोब्बर बनाए । उनले हेडरमार्फत गोल गरेका थिए ।
२–१ नतिजालाई बराबरीमा पुर्याउन बेलबारी एफसीका भुषण लिम्बू सफल भए ।

उनले २६औँ मिनेटमा वान टच बललाई सिधै गोलपोष्टको दिशा दिएका थिए । पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन् ।

सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो । उनले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाए । जीत नजिक पुगेको मोरङ पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ दी म्याच सिक्किमका दुई गोलकर्ता रोहन राई घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कारस्वरुप नगद १० हजार प्रदान गरे ।

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मंगलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।