विभागीय टोली नेपाल पुलिस क्लब हाम्रो गोल्डकपको अन्तिम चारमा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

विभागीय टोली नेपाल पुलिस क्लब हाम्रो गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
१९ कार्तिक २०७६, मंगलवार १२:१६

झापा । सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो ।

त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए । उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा पुराएको हो । प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको ३०औँ मिनेटमा पाएको फ्रिकिकमा उनले गोल गरेका हुन् । एपीएफका नविन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड टचमा हरि कार्कीले पनि हेड गोल गरेका हुन् ।

खेलको ९ मिनेटमै पुलिसका निरकुमार राईले पाएको अवसर खेर गएको थियो । उनले प्रहार गरेको बल एपीएफको बारमा लाग्दै भित्रिएपछि पुलिसका समर्थक निराश बनेका थिए । यस्तै, पाएका थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा पुलिस १–० ले पछि परेको थियो ।

दोस्रो हाफको ३०औँ मिनेटमा पुलिसका भोला सिलवालले गोल गरेर खेललाई बराबरीमा पुराए । सन्तोष हेमरमको पासलाई एपीएफका दुई डिफेन्डरलाई काटेर भोलाले गोल गरेका हुन् । नियमित खेलाडी निरकुमार राईलाई खेलको ४६औँ मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए ।

१–० गोलले पछि परेको अवस्थालाई उल्टाएर जीत नजिक पुराएका पुलिसका भोला सिलवाल खेलको नायक सावित भए । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद १० हजार पुरस्कार पाउन सफल भए ।

पुलिसले पहिलो खेलमा झापा ११ एफसीलाइृ २–१ गोलअन्तरमा पराजित गरेर टाइब्रेकर खेलेको हो भने एपीएफ बाइमा परेर सोझै क्वाटरफाइनल खेलमा प्रवेश गरेको टोली हो ।

१० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।