खुशीका आधार के ? « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

खुशीका आधार के ?


यलम्वर टाइम्स
१२ आश्विन २०७९, बुधबार ०९:०९

 

दशैंले छपक्कै छोप्यो । तर, किन हो कोनि दशैंको रौनक नै आउँदैन अचेल । केटाकेटी छँदा नयाँ बर्षको भित्तेपात्रो भेट्ने बित्तिकै दशैंको मिति हेरिन्थ्यो । र, त्यही दिनबाट उल्टो गन्ति शुरु हुन्थ्यो । बत्तीघर जस्तो भएर छ महिना पछाडि बसेको दशैं सम्झिदै मनमा असिम आनन्द आउँथ्यो ।

घरमा अभाव थियो, तर केटाकेटी मनमा अभाव थिएन । आमा र दाजु भारतको नक्सलवाडी पुगेर ल्याइ दिने प्लाष्टिकका जुत्ता, नयाँ सेतो सर्ट र नीलो पाइन्ट (जुन पछि स्कूललाई समेत काम लाग्थ्यो) लगाउन पाउने कुरा सम्झेर नै नयाँ फुर्ति आउँथ्यो ।

सम्पन्नहरुले लगाउने रङ्गिविरङ्गी लुगा, महङ्गा जुत्ता देखेर मनमा आह्रिस जाग्थ्यो, हामीले कहिले त्यस्तो लगाउने दिन आउँछ होला भन्ने लागिरहन्थ्यो । मनमा जति आह्रिस भए पनि ठूलाबडाको घरमा जस्तै हाम्रो घरमा पनि खसी काटिन्थ्यो । काटमार हेर्न मन लाग्दैनथ्यो मलाई, तर घरैमा खसी काटेपछि मात्र दशैं आउँछ जस्तो लाग्थ्यो । आमा–दाजुहरु अभावका बीच पनि कसरी त्यो जोहो गर्नुहुन्थ्यो कोनी ।

दशैंका लागि घटस्थापनाबाट स्कुल छुट्टी हुन्थ्यो, जमरेऔंशी भनेर जमरा राखिन्थ्यो । शनिश्चरे बजार स्थित दुर्गा मन्दिरमा विशाल पूजा लाग्थ्यो । देवीको आरधनाको केन्द्र स्थल त्यही मात्र थियो होला सायद । त्यसैले नौरथा लागेपछि दुर्गा मन्दिर जान पाउनु पनि अवसर नै हुन्थ्यो । अर्थात् विषय सानो लाग्ने थियो, तर खुशीको सीमा अथाह थियो ।

आज पनि दशैं आएको छ । तर नयाँ लुगाको लोभ आफूलाई पनि छैन, केटाकेटीहरुले पनि हामीले गरे जस्तो मरिहत्ते गर्दैनन् । किनकि लुगाको अभाव छैन । खसीको मासुको लोभ उनीहरुलाई छैन, किनकि आवश्यकता अनुसार उनीहरुको शरीरले साप्ताहिक रुपमा पाएका छन् । परिवार मिलनको लोभ छैन, किनकि सामाजिक संजालले हरेक दिन सम्वाद गर्ने वातावरण प्राप्त छ । टीका लगाएर थापिने दक्षिणाको पनि उनीहरुलाई आश छैन, किनकि दुई–चार पैसाको अभाव अब अधिकांशलाई छैन । यो सबैको तुलना गर्न पाउने समयभित्र हाम्रो पुस्ता छ । त्यसैले लाग्छ– के दशैंले पहिलाकै जति खुशी दिएको छ ?
पहिला किसानले धान रोप्थ्यो असार–श्रावणमा र पाक्थ्यो मंसिरमा । कृषि बाहेकको रोजगारी धेरै थिएन, त्यसैले फुर्सद थिए मान्छेहरु । त्यस बेला पैसा महङ्गो, वस्तु सस्ता थिए । चाडपर्वको भरपुर उपभोग गर्थे । मेलाहरु लाग्थे, त्यसमा नाच्थे र रमाउथे । परिवारभित्र नै खुशी थिए यहाँका मान्छे ।

अहिले आइपुग्दा पैसा सस्तो र बस्तुहरु अति महङ्गो हुँदै आयो । हरेकको हातमा दुई–चार पैसा हुने वातावरण तयार भयो । मान्छेलाई पैसाको लोभ हराउँदै गयो । पैसाकै कारण आत्मविश्वास जाग्दै आयो । परनिर्भरता घट्दै गयो । सम्बन्धहरु आशावादी हुन छाडे । सम्झौतामा मात्र अडेका सम्बन्धहरु स्थापित हुँदै आए । खुशीका आआफ्ना केन्द्रहरु बन्न थाले ।

अहिले आइपुग्दा पैसा सस्तो र बस्तुहरु अति महङ्गो हुँदै आयो । हरेकको हातमा दुई–चार पैसा हुने वातावरण तयार भयो । मान्छेलाई पैसाको लोभ हराउँदै गयो । पैसाकै कारण आत्मविश्वास जाग्दै आयो । परनिर्भरता घट्दै गयो । सम्बन्धहरु आशावादी हुन छाडे । सम्झौतामा मात्र अडेका सम्बन्धहरु स्थापित हुँदै आए । खुशीका आआफ्ना केन्द्रहरु बन्न थाले ।

पारिवारिक मिलनको ठूलो अवसर जस्तो हुन छाड्यो दशैं । दशैंबाट भाग्नेहरुको संख्या बढ्न थाल्यो । छुट्टीको सदुपयोग गर्दै देशदेशान्तर घुम्नेहरुको संख्या बढ्दै जाँदैछ । दशैंमा फुर्सद भएकाले अत्याधिक रक्सी खानु पर्ने, जुवातास खेल्नु पर्ने संस्कार विकास हुँदै जाँदैछ । अर्थात् अबको दशैं पारिवारिक मिलन, सम्वाद र लिङ्गेपिङको मच्याइ छाडेर अलिक फरक आयामको रुपमा विकास हुँदैछ ।

यी सबै कुरा खुशीका लागि हुन् । मान्छेले केमा खुशी भेट्छ, त्यसै गर्ने हो । हामी पूराको पूरा पश्चिमा शैलीबाट प्रभावित हुँदै गयौं । अब घर घरजस्तो हुन छाड्यो । परिवारका सदस्यहरुसँगै बसेर खाना खाने शैली परिवर्तन भयो । एउटाले अर्कोसँग सम्वाद गरेर समस्याहरुको बारेमा छलफल गर्ने परम्परा नासिदै गयो । घरमुलीले मियोको रुपमा परिवारलाई बाँधेर राख्ने र उनको अनुभव–अनुभूतिका आधारमा सदस्यहरुले भावी योजनाहरु बनाउने दिनहरु क्रमशः सकिदै गएको छ ।

परिवारकै सदस्य खुशी भएको सामाजिक संजालबाट थाह हुने दिन आयो, दुःखी भएको पनि त्यहींबाट थाह हुन्छ । दिनभर कता घुमिरहेका छन् भन्ने पनि त्यहींको पोष्ट हेरेर थाह हुन्छ । को–कोसँग भेट गर्दैछन् भन्ने आधाउधि त त्यहीं हेरेर थाह पाइन्छ । बिस्तारै हरेक व्यक्ति स्वतन्त्र हुने तर खुशी नहुने दिन आउँदैछ ।

परिवार अब परिवार जस्तो नरहने भो । परिवारको व्याख्या अब नयाँ हुनेछ । भनिनेछ– एकै रगतका वा अन्य रगतका समेत शारीरिक सम्बन्ध, शारीरिक सुरक्षा, एकअर्काले वाधा नगर्ने गरी आवश्यक सहयोग लगायतका विषयमा मानसिकरुपमा आफूलाई तयार गरी एकै छानामुनी बस्ने मान्छे वा जनवारहरुको झुण्डलाई परिवार भनिन्छ ।

डा. संजीव उप्रेतीले आफ्नो सरकारी जागिर समयभन्दा अगावै छाड्नु भयो । जागिर छाड्नुको कारण खुलाउँदै उहाँ भन्नु हुन्छ– मैले खुशी खोज्न जागिर छाडेको हुँ । अब म प्रकृतिसँग, पन्छीसँग रमाउँदै खुशी खोज्न चाहान्छु ।

मान्छेले आफूलाई चाहिने आधारभूत आवश्यकता पूरा गरेपछि अत्याधिक खोजेको विषय भने खुशी नै हो । म के कुरामा खुशी हुन्छु भन्ने पत्ता नलगाइकन मर्छन् कोही । कोही खुशी खोज्ने धुनमा अत्याधिक समस्याभित्र जेलिंदै जान्छन् । कोही पैसामा खुशी देख्छन्, कोही समर्पणमा खुशी देख्छन् । कोही सेवामा खुशी देख्छन्, कोही राजनीतिमा । कोही प्रतिष्ठामा खुशी देख्छन्, कोही सम्मानमा । कोही जीतमा खुशी देख्छन्, कोही जीवनको अत्याधिक भोगाइमा । कोही कर्ममा खुशी देख्छन्, कोही अध्यात्ममा ।

हामी आफैले आफैलाई भ्रममा पालेर खुशी खोज्छौं र अझै दुःखी हुँदै जान्छौं । अहिलेको हरेक व्यक्ति साँच्चैको व्यक्तिवादी हुँदै गयो । सबैले आफूलाई महत्व दिओस् यो उसको पहिलो सर्त बन्दै गएको छ । छोटा–छोटा दृश्यहरु भोग्नतर्फ उन्मुख छ । खाद्यान्न जस्तै जीवन पनि फास्टफुड बनाउँदै गएको छ । जसका ‘साइडइफेक्ट’हरु देखिन थालेका छन् ।

सबैले बुझेको छ, तर सबै चाहान्छन् अरुले नै बुझुन् । जीवनको ब्याख्या आफू गर्छ, तर भोग्ने शैली अरुले नै निर्वाह गरुन् । दुःखको कारण त्यहींबाट उत्पादन भएको छ ।

विशाल ब्रमाण्डका कुनै पनि वस्तुको महत्व भित्र नपरेका हामी, वरपरका दुई–चार वस्तुसँग रमाउन सकिरहेका छैनौं ।

खुशी बेग्लै वस्तु होइन रहेछ, आफूसँग भएका चेतनालाई हरेक वस्तुसँग, हरेक समयसँग, हरेक रितीरिवाजसँग, रहेक मान्छेसँग सकारात्मक प्रतिक्रिया गर्न सकिएन भने प्राप्त गर्न नसकिने रहेछ । उमेरले ल्याउने प्रतिक्रियाभन्दा बेग्लै हुन्छ, आफ्नो खुशीको आधार । हामीले त्यो भेट्न सकेनौं भने जीवनको सार्थकता भेट्न नसकिने रहेछ ।

डा. संजीव जस्तै प्रकृतिभित्र रमाउन पाउनु जति आनन्द अर्को केही छैन संसारमा । तर यतिखेर म भने बालपनमा अनुभूति गरेको दशैंभित्रको बेग्लै रस खोजेर रमाउने प्रयास गरिरहेको छु ।