अर्जुनधारामा कृषि अनुसन्धान निर्देशनालयको उपस्थितिमा धान बालीको अनुगमन « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारामा कृषि अनुसन्धान निर्देशनालयको उपस्थितिमा धान बालीको अनुगमन


यलम्वर टाइम्स
२८ कार्तिक २०७९, सोमबार ०४:२९

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रका कृषकहरुको हितका लागि स्थापित अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाले धानको बीज वृद्धि कार्यक्रम गरेसँगै अनुगमन तथा निरीक्षण गरेको छ ।

विभिन्न सात जातका धानको मूल बीउ ल्याई अर्जुनधाराका कृषकहरुको करिब ५० विगाह जमिनमा लगाई बीज वृद्धि कार्यक्रम सुरु गरेको नगर सहकारीले आइतबार अर्जुनधारा नगरपालिका, कृषि अनुसन्धान निर्देशनालय तरहरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण झापा र कृषि ज्ञान केन्द्रको संयुक्त उपस्थितिमा धान बालीको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

अर्जुनधारा नगरपालिकालाई खाद्यन्नमा आत्मानिर्भर बनाउन संस्थाले कृषकहरुलाई मूल बीउ वितरण गर्दै कृषि प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा राखिएको थियो ।

‘प्रत्येक वर्ष भारतबाट धानको बीउ ल्याउन अर्जुनधाराबाट मात्र एक करोड रुपैयाँ बाहिरिन्थ्यो’ सहकारीका कार्यवाहक अध्यक्ष छत्र पौडेलले भने, ‘बीज वृद्धि गरेर यहीका कृषकलाई उपलब्ध गराउन सके पैसा पनि बाहिर जादैन र कृषकले पनि समयमै बीउ पाउछन् ।’ पौडेलले यो वर्ष तीन हजारभन्दा बढी धानको बीउ संकलन गरिने बताए ।

अनुगमन तथा निरीक्षणमा नगर उपप्रमुख खड्गमाया पराजुली, कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशव श्रेष्ठ, अर्जुनधारा–७ वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी, कृषि विकास फार्म चन्द्रडाँगीका वरिष्ठ बाली विकास अधिकृत वीरेन्द्रराज पराजुली, कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्ट, पशुपन्छी, मत्सय तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई, कृषि विकास शाखाकी प्रमुख एन्जिला बिडारी, सहकारीका लोचन राई, कृषि प्राविधिक कुलचन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

टोलीले अर्जुनधारा–७ मिलडाँडाका कृषक शंकर यादवले तीन विगाहामा लगाएको मिथिला जातका धान बालीको अनुगमन तथा निरीक्षण गरेको थियो ।