चिसो बढेसँगै हिमाली जनजीवन प्रभावित « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

चिसो बढेसँगै हिमाली जनजीवन प्रभावित


यलम्वर टाइम्स
१९ पुष २०७९, मंगलवार ०७:३१

ताप्लेजुङ । चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ ।

पछिल्लो हप्ता मौसम एक्कासि चिसिएसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो । 

घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन कष्टकर बन्दै गएको हो ।

असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन् । 

समुद्र सतहदेखि तीन हजारभन्दा माथिका हिमाली बस्तीहरूमा चिसोले बढी सताएको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा–७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ ।

याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो ।

उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छोडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् ।

यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् ।

घुन्साका स्थानीय पेमा शेर्पाका अनुसार पछिल्लो केही सातायता निक्कै चिसो बढेको छ ।

चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको शेर्पाको भनाइ छ । 

यस्तै फलेकी फुटी शेर्पाले पनि केही दिनयता निक्कै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको बताइन् ।

बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको शेर्पाले बताइन् । हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निक्कै बढेको उनका् भनाइ छ । उहाँले हिउँ नपरेसम्म चिसो कायम रहने बताइन् । 

ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि हिउँ नपरेका कारण बढी चिसो भएको बताए । घाम नलाग्ने, बाक्लो हुस्सु र तुषारो मात्र पर्ने हुँदा अधिक चिसो भएको वालुङले बताए ।

उनले हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मक रूपमा चिसो कम हुने बताए । चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निक्कै समस्या पारिरहेको उनले बताए ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ ।

गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए ।

वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । 

यसरी बढ्दो चिसोले सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ । तुलनात्मक रूपमा हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको छ ।

चिसो बढेपछि हिमाली बस्तीका बासिन्दा यतिबेला अधिकांश समय घरभित्रै बस्दै आएका छन् । पशुचौपायालाई न्यानो गोठ तथा ग्वालीहरूमा राखेको स्थानीयले बताएका छन् । 

सदरमुकाम फुङ्लिङ बजारमा पनि निक्कै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । 

केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

सोमबार ताप्लेजुङको न्युनतम तापक्रम ४.० डिग्री सेल्सियस मापन गरिएको जिल्लास्थित फिल्ड कार्यालयका इन्चार्ज डेभिड ढकालले जानकारी दिए ।

चिसोका कारण सर्वसाधारणमा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्न थालेको समेत स्थानीय बताउँछन् । गोरखापत्रबाट