झापामा सुपारीबाट मात्रै ६० करोड बढी राजश्व छली « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

झापामा सुपारीबाट मात्रै ६० करोड बढी राजश्व छली


यलम्वर टाइम्स
७ माघ २०७९, शनिबार ०३:५०

[ज्ञानेन्द्र निरौला]

झापा । झापामा उत्पादन भएका सुपारीबाट मात्रै करीब ६० करोड बढी राजश्व छली हुने गरेको खुलासा भएको छ । झापामा उत्पादित भएर झापामा नै प्रशोधन भएका सुपारीलाई विदेशबाट आयात भएको सुपारी भन्दै बिक्रि गर्ने गरेका कारण राजश्व छली हुने गरेको खुल्न आएको छ ।

स्रोतका अनुसार गत बर्ष २५ हजार मेट्रिक टन सुपारी विदेशबाट आयात भएको थियो । त्यस मध्ये नेपाल भारत व्यापार तथा पारवहन सन्धी २०५७ अनुसार ९ हजार ७ सय ७० मेट्रिक टन सुपारी बैधानिक बाटोबाट भारत निकासी भयो । जसबाट सरकारले राजश्व असुल गर्यो । तर त्यस बाहेकको १५ हजार २ सय ३० मेट्रिक टन सुपारी अबैधानिक बाटोबाट तस्करी मार्फत भारत निकासी भएको छ । जसको कुनै बिल काटिएको हुँदैन ।

विदेशबाट आएको सुपारी मध्ये बैधानिक रुपमा भारत निकासी भएको सुवारी बाहेकको नेपालमै छ भन्ने सरकारी तथ्याङ्कमा देखिन्छ तर त्यो सुपारी तस्करी मार्फत भारत नै गइसकेको छ ।

उक्त मात्राको सुपारीको आयात गरेको प्रज्ञापन पत्र र बिल व्यवशायीसंग सुरक्षीत हुन्छ र तस्करी मार्फत भारत पुर्याएको सुपारीलाई कागजातमा नेपालमा नै स्टकमा (भण्डारण) गरिएको देखाइन्छ । कागजमा भण्डारण गरिएको देखाइएको भए पनि त्यो सुपारी भण्डारणमा हुँदैन ।

त्यही कागजी सुपारी जुन राजश्व तिरेर विदेशबाट नेपाल भित्र्याएको हुन्छ र थप राजश्व तिर्नु पर्दैन र देशका जुनसुकै ठाउँमा पनि भ्याट विल काटेर विक्रि गर्न पाइने हुन्छ ।

झापामा उत्पादन भएका सुपारी विदेशबाट आयात भएकै सुपारीको भ्याट विलमार्फत बुटवल, कपिलबस्तु र कोहलपुरमा रहेका गुट्का उद्योगहरुलाई बिक्रि गरिन्छ ।

नेपालमा उत्पादित भएका सुपारीलाई बिक्रि गर्दा भ्याट विल काटेर बिक्रि गर्नु पर्ने हो तर स्थानीय व्यवशायीहरुसंग कुनै बिल नकाटी ठुला व्यापारीक फर्महरुले किन्ने गरेका छन र विदेशबाट आएको भनिएको सुपारीको भण्डारण देखाएर त्यसकै बिक्री देखिने गरी बिल काटेर गुट्का उद्योगलाई पठाउने गरिएको छ ।

जसका कारण स्थानीयस्तरमा उत्पादन भएका सुपारीको बिक्रिबाट आउने भ्याट बापतको रकम नेपाल सरकारलाई आउँदैन । सरकारले विदेशबाट आयात भएको सुपारी र झापामा नै उत्पादन भएको सुपारीको भण्डारणका बारेमा तथ्याङ्क नराख्दा सरकारलाई बार्षिक करोडौं राजश्व नोक्सानी भइरहेको छ ।

कृषि ज्ञान केन्द्र झापाले दिएको तथ्याङ्क अनुसार झापामा मात्रै बार्षिक १० हजार ३ सय ५५ मेट्रिक टन प्रशोधित सुपारी उत्पादन हुन्छ । जसको हालको बिक्रि मुल्य अनुसार नियमानुसार १३ प्रतिशत भ्याट तिर्दा भ्याट रकम मात्रै पनि प्रतिकिलो ६५ रुपैया पर्न जान्छ ।

झापामा उत्पादित भएको प्रशोधित सुपारीको भ्याट बापतको रकम मात्रै पनि ६७ करोड ३० लाख हुन आउँछ । यस मध्ये काँचो सुपारी संकलन गरेर प्रसोधन गर्ने व्यवशायीहरुले बार्षिक करीब ५ देखि ६ करोड मात्र भ्याट तिर्छन त्यस बाहेकको करीब ६० करोड रकम राजश्व छली गरेर ठुला व्यवशायीले राज्यलाई टाट पल्टाउने काम गरिरहेका छन ।

झापामा उत्पादित सबै सुपारी काकरभिट्टास्थीत न्यू सुमित ट्रेडर्स, तुसार सुपारी प्रसोधन उद्योग र एस.एस इन्टरप्राइजेजले बिना भ्याट बिल स्थानीय प्रशोधन केन्द्रहरुबाट खरिद गर्ने गरेका छन । त्यसरी खरिद गरिएको झापामा उत्पादन भएका सुपारीलाई थप भ्याट बिल नकाटी विदेशबाट आयात गरिएको सुपारी भन्दै पहिल्यै तिरेको भ्याटका आधारमा बुटवलको श्रीराम टोबाको उद्योग, बाँकेको कोहलपुरस्थीत मेधाश्री गुट्का उद्योग र कपिलबस्तुको पुकार गुट्का उद्योगमा बिक्रि गर्ने गरिएको स्रोतले बताएको छ ।

‘हामीले झापाको सुपारी भ्याट बिल काटेर बिक्रि गर्छौ भन्दा पनि पाएका छैनौं,’ काँचो सुपारी प्रसोधन केन्द्र सञ्चालन गर्ने एक व्यवशायीले भन्नुभयो,‘विदेशी सुपारीको स्टक भनेर बिक्रि गर्दा स्थानीय सुपारीको भ्याट बिल नकाटी बिक्रि गर्ने भएकाले गुट्का उद्योगलाई सस्तो पर्छ त्यसैले हामीले कर तिरेर व्यवशाय गर्छु भन्दा पनि पाएका छैनौं ।’

‘हाम्रो व्यवशायी फर्ममा कारोबार नै देखिदैंन,’ अर्का सुपारी व्यवशायीले भन्नुभयो, ‘कारोबार करोडौंको हुन्छ तर हामीले भ्याट बिल काटेर सिधै गुट्का उद्योगलाई सुपारी बिक्रि गर्न नपाएका कारण हामीले कारोबार नै देखाउन सक्दैनौं, जसले बैंकबाट लिएको ऋणमा समस्या परेको छ ।’

ति व्यवशायीका अनुसार झापामा उत्पादन भएको सुपारीलाई भ्याट बिल काटेर बिक्रि गर्न सबै व्यवशायी तयार रहे पनि विदेशी सुपारीको स्टक देखाएर झापाली सुपारीको भ्याट विल नकाटी बिक्रि गर्दा उद्योगले भ्याट बापतको रकम तिर्नु नपर्ने भएका कारण भ्याट काटेर पठाउने व्यवशायीको सुपारी उद्योगले लिन मान्दैन ।

जसका कारण झापा मात्रै होईन अन्य जिल्लामा उत्पादन भएको सुपारी समेत पनि विदेशी सुपारीको स्टक देखाएर भन्सारको प्रज्ञापन पत्र र बिल बोकेर बसेका काकरभिट्टाकै व्यवशायीलाई बिक्रि गर्नु पर्ने बाध्यता भएको व्यवशायीहरु बताउँछन ।

झापामा मात्रै दर्तावाला प्रसोधन केन्द्रहरु करीब ४० वटा रहेका छन । यी सबै प्रसोधन केन्द्रहरुबाट उत्पादन भएको झापाको स्थानीय सुपारी काकरभिट्टा कै व्यवशायीले खरिद गर्ने गरेका छन ।

झापाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा लगायतका स्थानको दुई हजार ७ सय २५ हेक्टरमा सुपारी उत्पादन हुने गरेको छ ।

झापा सहित मोरङ, सुनसरी, इलाम, उदयपुर, सिराहा र सप्तरी जिल्लामा सुपारीको व्यवाशयीक खेती हुने गरेको छ । सेतोपत्रबाट