पाहुना टोली नामिबियामाथि नेपाल २ विकेटले विजयी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पाहुना टोली नामिबियामाथि नेपाल २ विकेटले विजयी


यलम्वर टाइम्स
२ फाल्गुन २०७९, मंगलवार १२:०५

काठमाडौं । आज (मंगलबार) बाट सुरु भएको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पाहुना टोली नामिबिया विरुद्ध २ विकेटको जीत निकालेको छ ।

टियू क्रिकेट मैदानमा भएको सिरिजको पहिलो खेलमा २ सय ८६ रनको वियजी लक्ष्य पाएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै भेटायो । विजयको लागि ३ रन आवश्यक भएको बेला सोमपालले चौका प्रहार गरेका थिए ।

जीतका लागि ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले । उनले १ सय १३ बलमा १० चौका र ४ छक्काको मद्दतमा १ सय १५ रन बनाए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए ।

कप्तान रोहितकुमार पौडेल ७६ बलको सामना गर्दै ७ चौका र ३ छक्कासहित ७२ रन बनाउदै आउट भए । तेस्रो विकेटका लागि पौडेल र भुर्तेलले १ सय ३३ रनको किर्तिमानी साझेदारी गरेका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २५, कुशल मल्लले ६, सन्दीप जोरा २८, दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए भने करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।

बलिङमा करण केसीले १० ओभरमा ६१ दिँदै सर्वाधिक ५ विकेट लिए । त्यस्तै पूर्व कप्तान सन्दिप लामिछानेले १० ओभरमा ६६ रन दिँदै ३ विकेट लिए भने सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।

नेपालले शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २४ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ ।