अर्जुनधारास्तरीय राष्ट्रपति रनिङ शिल्डः ११ स्वर्णसहित शनिश्चरे मावि प्रथम « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधारास्तरीय राष्ट्रपति रनिङ शिल्डः ११ स्वर्णसहित शनिश्चरे मावि प्रथम


यलम्वर टाइम्स
८ फाल्गुन २०७९, सोमबार ०५:५९

अर्जुनधारा । अर्जुनधारा नगरपालिका स्तरीय तेह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण पदक प्राप्त गर्दै शनिश्चरे मावि प्रथम बनेको छ ।

नगर भरिका ९ सामुदायिक र १४ संस्थागत विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितामा शनिश्चरे मावि अर्जुनधारा–८ ले ११ स्वर्ण पदक जित्दै प्रथम भएको हो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अर्जुनधारा–३ खुदुनाबारी स्थित जनता मावि ८ स्वर्ण र अर्जुनधारा–१ सिस्ने स्थित सिंहदेवी माविले ६ स्वर्ण पदक प्राप्त गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान ओगट्न सफल भए ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेल मैदानमा प्रतियोगिताको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिश्चरे माविमा आयोजित समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले पदक, प्रमाण पत्र र विजयी विद्यालयलाई ट्रफी प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन भानु माविका प्रअ रुपक दाहालले गरेका थिए ।

अर्जुनधारा खेल मैदान र शनिश्चरे माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडी तथा टिमले अब जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

जिल्लामा यही फाल्गुन १२, १३ र १४ गते कनकाई मावि सुरुङ्गाको खेल मैदानमा हुने शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदीले जानकारी दिए ।