ठूला दलको नश्लीयत झापडका कारण साना दल एक हुँदै « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

ठूला दलको नश्लीयत झापडका कारण साना दल एक हुँदै


यलम्वर टाइम्स
२८ फाल्गुन २०७९, आईतवार ११:३४

[राजन साम्पाङ]

बिर्तामोड । यसै वर्ष मुलुकमा स्थानीय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । स्थानीय निर्वाचनमा केही साना पहिचानवादी दलहरुले फाट्टफुट्ट वडामा विजय हाँसिल गरे पनि अधिकांश क्षेत्रमा स्पर्धामा नै आउन सकेनन् । त्यस्तै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पहिचानको विषयमा वकालत गर्दै आएका दलहरुले पानीसम्म भन्न पाएनन् ।

संसदमा आफ्नो बाक्लो उपस्थिति जनाइसकेको जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय पार्टी बने पनि प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरि जम्मा १४ सिटमा खुम्चिनु पर्यो ।

त्यस्तै ०७४ को चुनावमा थ्रेसहोल्ड पार गर्दै क्षेत्रीय पार्टीको दौडमा अघि बढेको कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बूवान राष्ट्रिय मञ्च ०७९ को निर्वाचनसम्म आइपुग्दा क्षेत्रीय पार्टीको दौडबाट नै बाहिरियो ।

२०४८ सालमा पहिचान, सहअस्तीत्व र बहुलवादको नारा बोकेर उदाएको राष्ट्रिय जनमुक्ति पार्टीले एमएस थापा र गोरेबहादुर खपाङ्गी रहँदा सम्भावना देखाए पनि कालान्तरमा पार्टी चोइटिदै जाँदा सानो बन्न पुग्यो । मेची–महाकाली संगठन भएको बताउँदै आए पनि ०७९ निर्वाचनमा जनमुक्तिले नतिजा निकाल्न सकेन ।

यस बीच पहिचान चाहने र जातीय मुक्तीका आवाज उठाउँदै आएका दलहरु एक ठाउँमा उभिनै सकेनन् । नेतृत्वको आ–आफ्नै घमण्ड र अडानका कारण ऐक्यबद्धता जनाउन नसक्दा परिणाम आउन नसकेपछि कार्यकर्ताहरुले आ–आफ्ना दलका नेताहरुलाई एकताका लागि दबाब दिँदै आएका थिए ।

निर्वाचनले देखाएको परिणाम र कार्यकर्ताहरुको दबाबका बीच एकताको विकल्प नरहेको निष्कर्ष निकल्दै राष्ट्रिय जनमुक्ति पार्टीले अन्य पहिचानवादी साना दलहरु समक्ष एकताको प्रस्ताव फ्याँक्यो ।

फलस्वरुप पटक–पटकको सम्वाद र छलफलले पूर्वबाट एकताको सन्देश दिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा पहिचान पक्षधर छ पार्टी एक हुँदै एकताको सन्देश दिएको थियो ।

तामझामका साथै पार्टी एकताको घोषणा गरिरहँदा लिङ्देन नेतृत्वको लिम्बूवान राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन जस्ता पहिचान खोज्ने दलहरुले बेवास्ता गरेको देखिन्छ ।

मुद्दा मिल्ने दलहरु वैकल्पिक शक्तिको रुपमा उदाउँदै पहिचान स्थापित गर्न जुटिरहँदा अर्को पहिचानवादी दलले नपत्याउनु घाटा कसलाई हुन्छ ? पहिचान पक्षधरहरुले सोच्नु पर्ने विषय हो ।

‘राष्ट्रिय मुक्ति क्रान्तिको लागि सम्पूर्ण पहिचान पक्षधर शक्तिहरु लामबद्ध हौं’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानका शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका थिए ।

एकता घोषणा कार्यक्रममा संघीय लिम्बूवानका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले सम्पूर्ण शोषित–पीतिडका पक्षमा संघर्ष गर्ने गरी एकता गरिएको बताए ।

पालुङ्वाले एकतामा नै शक्ति हुने हुँदा अब फुटेर हैन जुटेर पहिचानको निम्ति लड्ने बताए । षडयन्त्र पूर्वक प्रदेशको नाम कोशी राखिदा १० वर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनको मूल मर्मलाई नै अन्त्य गरेको आरोप लगाए ।

कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले पहिचानवादीहरुको अस्तित्व मेटाउने गरी काममा ठूला राजनीतिक दल लागेको आरोप लगाए । त्यस्तै, लिम्बूवान राष्ट्रिय समिति, लोसपाका अध्यक्ष भक्त खेवाङले ठूला दलले आदिवासी जनजाति, अल्पसंख्यक, दलितलाई प्रयोगमात्र गरेको बताउँदै शोषित पीडित एक भई लाग्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले कोशी प्रदेशको नामाकरणसँगै आदिवासी जनजाति, दलित, शोषितहरुको आवाज खोजिएको आरोप लगाए ।

‘शासन सत्ता परिवर्तन भयो, शासकहरु परिवर्तन भएन, व्यवस्थाहरु परिवर्तन भए तर जनताको अवस्था परिवर्तन भएन ।’ उनले भने, ‘अब आम जनताको अवस्था सुधार्न र पहिचानसहितको अधिकार दिलाउन पहिचानवादी दलहरु एक हुनुको विकल्प छैन ।’

सात बुँदे सहमति गर्दै छ पार्टी बीच एकता भएको थियो । सहमति पत्रमा नेपालको औपनिवेशिक एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्वायत्त क्षेत्र, विषेश क्षेत्र सरक्षित क्षेत्र एवम् गैर–मौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न, राज्यको हरेक अङ्गहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागीतामुलक प्रतिनिधित्व एवम् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद, बहुलराष्ट्रवाद बहजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवम् विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण गर्ने बुँदाहरु रहेका छन् ।

त्यस्तै, नेपालको संविधान २०७२ पुनर्लेखन तथा संसोधन, राष्ट्रिमुक्ति क्रान्ति सम्पन्न गर्ने, लिम्बूवान, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, आदिवासी जनजाति, मुस्लिम, पिछडा वर्ग, थारुहट, मधेसी लगायत र सरकारबीच विगतमा भएका सहमति तथा सम्झौताहरु कार्यान्वयन गराउने, कोशी प्रदेश नामांकन खारेज गर्दै प्रदेश नं. १ को पुनः नामांकनका लागि सशक्त आन्दोलन गर्ने लगायतका बुँदाहरुमा सहमति भएको थियो ।

एकताको सम्पूर्ण प्रक्रिया पूरा नभइञ्जेलसम्मको लागि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको संयोजकत्वमा प्रत्येक संगठनको अध्यक्ष र पदाधिकारीहरु सहितको पार्टी एकता कार्यसम्पादन समिति गठन जनमुक्तिका महासचिव पदम जवेगुले जानकारी दिए । उनका अनुसार एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पार्टीको विधान घोषणा–पत्र, आचारसंहिता लगायतका प्राविधिक पक्षहरु कार्यसम्पादन समितिले तय गर्ने छ ।

पार्टी एकता घोषणा कार्यक्रममा संघीय खम्बूवान लोकतान्त्रिक पार्टीका अध्यक्ष रघुनाथ खम्बू, किराँत लिम्बूवान प्रदेश नामाङकन अभियानका संयोजक प्रेमदीप थाम्सुहाङ लिम्बू लाजेसा लगायतल एकताको विषयमा बोलेका थिए ।

जनमुक्तिका उपमहासचिव विष्णु थाम्देनले एकताको सहमति घोषणा पत्र वाचन तथा संघीय लिम्बूवानका उपाध्यक्ष निश्चला वालतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लासेक पालुङ्वाले गरेका थिए ।