शहीद घोषणा र पुनः नामकरण नगरेसम्म शव नबुझ्ने संघर्ष समितिको निर्णय « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

शहीद घोषणा र पुनः नामकरण नगरेसम्म शव नबुझ्ने संघर्ष समितिको निर्णय


यलम्वर टाइम्स
१० चैत्र २०७९, शुक्रबार १२:२४

धरान । कोशी प्रदेश खारेजीको मागसहित चैत्र ५ गते बिराटनगरमा भएको विशाल प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’लाई शहीद घोषणासँगै प्रदेशको पुनः नामाङ्कन नगरेसम्म शव नबुझ्ने संयुक्त संघर्ष समितिले निर्णय गरेको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज शुक्रवार काठमाण्डौमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले आजै बेलुकी ५ देखि प्रदेशको १४ वटै जिल्लामा र काठमाण्डौमा विरोध सभा गर्ने निर्णय गरेको छ ।

त्यस्तै भोली चैत ११ गते प्रदेशभरी २ घण्टा चक्काजाम गर्ने निर्णय गरेको बताइएको छ । दिउँसो १ देखि २ बजेसम्म प्रदेशका १४ वटै जिल्लामा स्थानीय संयुक्त संघर्ष समितिहरूद्वारा चक्काजाम गराइने भएको हो ।

घट्नाको छानबिन आयोग गठनको माग सहित संघर्ष समितिले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय गरिएको छ ।

संघर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोका अनुसार निर्णयमा भनिएको छ ‘प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुन्जेल र आन्दोलनकारी वीर योद्धा सहादत प्राप्त पदम लिम्बू लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने ।’

संयुक्त संघर्ष समितिको तर्फबाट मृतक परिवारलाई तत्कालका लागि आज शुक्रवार बेलुकीसम्ममा १ लाख ५० हजार रुपयौ तत्काललाई उपलब्ध गराउने निर्णय पनि भएको छ । संयुक्त संघर्ष समितिका घटक सङ्गठनहरूको पहलमा सम्बद्ध सङ्गठनका शीर्ष नेताहरू आजै शहीद पदम लिम्बू लाजेहाङको शव रहेको स्थान धरानमा केन्द्रित हुने निर्णय गरिएको छ ।

कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान–१५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २ः३० बजे निधन भएको हो ।