सफल चलचित्र ‘जारी’ « Yalambar Times
११ असार २०८१, सोमबार

सफल चलचित्र ‘जारी’


यलम्वर टाइम्स
१५ जेष्ठ २०८०, सोमबार ११:४२

[मन थेगुबा]

बहुभाषी अनि बहुसंस्कृति युक्त जातजाति रहेको नेपालको पूर्वी पहाडी भूभागमा बसोबास गर्ने लिम्बू (याक्थुङवा) हरुको वि.सं. १८३१ भन्दा अगाडि आप्mनो छुटै लिम्बूवान राज्य रहेको थियो । नेपाल एकीकरणको क्रममा नेपालभित्र गाभिए पनि लिम्बूवानका बासिन्दा लिम्बूहरुले आपूmले हिजो लिम्बूवानमा मान्दै आएका चालचलन रीतिथिति निरन्तर मान्दै आएको पाइन्छ । तिनै लिम्बू समुदायको अनेकौ रीतिथितिहरु मध्ये विवाह (मेखिम)मा जोडिएर आउने जारी पनि एक प्रथा हो । नेपालका अन्य भूभागमा बसोबास गर्ने जातजातिहरुमा पनि जारी उठाउने प्रथा रहेको पाइन्छ । इतिहास कोट्याउने हो भने कुनै समयमा जार काट्ने चलन पनि चलेको भेटिन्छ । तर लिम्बू जातिमा रहेको जारी प्रथामा माइती पक्ष वा बेहुलीले माग गरे अनुसारको नगद गरगहना, साथै अन्य खर्च (सुनौली–रुपौली) बेहुला पक्षले दिएपछि मात्र विवाह (मेखिम) सम्भव हुन्छ । विवाह पश्चात बेहुली अर्कै केटासँग फेरि विवाह गरेर गएमा पहिलेको बेहुलाले माइती पक्षसँग आपूmले विवाहमा गरेको खर्च असुल उपर गरेर लिने चलन छ । दोश्रो वेहुलाले ससुराली पक्षले तिरिदिएको जारी वापतको रकम तिरेपछि मात्र ससुराली आउजाउ गर्ने चलन छ । हिजोका दिनहरुमा कतिपय जारी तिर्न नसकेर ससुराली नै नगएको कथा आजका दिनहरुमा पनि सुन्न पाइन्छ । लिम्बुवानमा पनि थुम (ठाँउ) अनुसार चालचलनमा भिन्नता नपाइने होइन । सबै लिम्बूहरुले यसै गर्छन भन्ने छैन ।

उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित चलचित्र जारीको कुरा गर्ने हो भने यसले लिम्बू समुदायमा रहेको जारी प्रथालाई सकेसम्म न्याय मात्र गरेका छैनन्, उनीहरुको वैवाहिक परम्परादेखि रहनसहन समेत प्रष्टसँग देखाउन सफल रहेको भेटिन्छ । जारीको कथावस्तुमा सरसर्ती पस्ने हो भने सुब्बा खलकको छोरा नामसाङसँग मध्यम परिवारको छोरी हाङमाको लिम्बू चलन अनुसार मागी विवाह हुन्छ । विवाह गरेको वर्षौ हँुदा पनि उनीहरुबाट जायजन्म हँुदैन । सासूससुराले रुचाए पनि सन्तानको विषयलाई लिएर उनीहरु विचमा वैमनस्य उत्पन्न हुँदै जान्छ । यो क्रम बढ्दै गएर उनीहरु बिच हात हालाहालका साथ रुप्पालुङ–याङ (ढक्कि पैसा जुन लिम्बू समुदायमा विवाहको लगनमा बेहुलाले बेहुलीको पछेउरीमा बाधि दिन्छ । जसलाई केटीले फिर्ता दिएमा विवाह टुटेको मानिन्छ ।) फिर्ता हुँदै छुटानामसम्म हुन पुन्छ । माइतमा बसेकी हाङमालाई लिन नामसाङ कुनै हालतमा जान मञ्जुर हँुदैन भने हाङमा पनि आउन मान्दैन । जसरी पनि बुहारी फर्काउने विचारमा रहेका नामसाङका बुबा शेरबहादुरले मंगलसिंलाई मेलाबाट हाङमालाई लिन जादा आवश्यक पर्ने कोसेली पनि ल्याउन अह्राएर पठाउँछ । बिडम्बना त्यसै मेलामा हाङमा अर्कै केटासँग पालममा हारेर पोइला (फाच्चा) जानु परेको कुरा कोसेली ल्याउने मंगलसिंले प्रत्यक्ष देख्न पुग्छ । मंगलसिंले यो सबै बृतान्त नामसाङको घरमा सुनाएपछि कथाले ‘जारी’को मोड लिन्छ ।

यथार्थ बुझिसकेपछि नामसाङ जसरी पनि विवाहमा खर्च भएको जारी उठाइछाड्ने मनसायमा पुग्दछ भने हाङमा पोइला (फाच्चा) गएको केटो निम्न आर्थिक अवस्थाको हुन्छ । हाङमाको दोश्रो श्रीमान् एक्ली आमा र नवदुलहीलाई छाडेर जारी तिर्ने पैसा जोहो गर्न मुग्लान लाग्दछ । हाङमाको माइतमा जारी उठाउन आएका नाम्साङ पक्षले जसरी पनि जारी वापतको रकम दिनै पर्ने जिरह गर्छन् । नाम मात्रको सुनदन्ते हाङमाको बुबासँग उनीहरुले दावी गरेको रकम दिन सक्ने अवस्थामा हँुदैन । त्यसैले केहि समयपछि जारी वापतको रकम जोहो गरेर दिने कुरा गर्दा नामसाङले रकम चुक्ता नगरेसम्म धरौटी स्वरुप सुनदन्तेलाई हली बस्नु पर्ने प्रस्तावका साथ कड्किन्छ । सञ्जोग यसै समयमा माइत आइपुगेकी हाङमाले आप्mनो माइतीको त्यस्तो अपमान गर्दै बुबालाई हली राख्नेसम्मका सबै कुरा सुन्न पुग्छ । यस्तो अपमान सहन नसकेर हाङमा आपैm पूर्व पति नाम्साङकोमा जारी तिर्न नसकिन्ज्याल धरौटी स्वरुप नोकर्नीको रुपमा काम गर्न जाने प्रस्ताव राख्छ । यसरी जारी तिर्न नसकेर नोकर्नी बस्न हाङमा नामसाङकोमा फर्किएसँगै कथाले अर्को मोड लिन पुग्दछ ।

अर्कैसँग पोइला गइसकेकोलाई फर्काएर ल्याएको नामसाङको आमालाई पटक्कै मन पर्दैन । घरभित्र त के हाङमालाई आगनै टेक्न नदिएपछि खोल्माको बास हुन्छ । यसरी हाङमाको दुःखका दिनसँगै नामसाङको आमा बिरामी पर्न थालेकोले सुब्बा परिवारमा पनि कष्टका दिनहरु सुरु हुन्छन् । बाहिरको काम घाँसदाउरा गर्न हाङमाले सघाए पनि ढिकी जातोदेखि भान्साको सबै काम नामसाङ आपैmले गर्नु पर्दछ । नामसाङको फेरि विवाहमा भोजभतेर चलाउन पाडीको जोहो गरेर विहे गर्ने केटीको खोजीमा लाग्दछन् । तर पहिले नै विवाह गरेको कारण देखाउदै कतै पनि केटी दिदैनन् । मेलाबाट घिसारेर नुमालाई ल्याउने प्रयास समेत असफल हुन्छ । नामसाङको आमाको अवस्था दिनदिनै बिग्रदै जान्छ । नामसाङको दुःखलाई हाङमाले टुलुटुलु नहेरी आप्mनो क्षमताले भ्याएसम्म सहयोग गर्न थालेपछि एकै ठाँउ रहेर सँगै नभए पनि पुरानो माया बल्झन थाल्छ । हाङमाले आप्mनो बिमारी आमालाई स्याहार गर्दै गरेको भेट्दा नामसाङलाई हुनसम्म पछुतो लागेर आउछ । यस्तैमा आमाको मृत्यु भए पनि ‘अर्को महिला यस घरमा नआएसम्म नजानु है’ भन्ने वचनले हाङमालाई बाँधेर राखेको हुन्छ भने नामसाङलाई हाङमाको मायाले छपकै छोपिसकेको हुन्छ ।

यति बेलासम्ममा आकलझुकल देखिने अर्को प्रमुख पात्र हाङमाको भाइ वीरध्वजको शसक्त उपस्थिति भइसकेको हुन्छ । दिदी फर्किएर आइ पोइला जाँदा वा जारी उठाउन नामसाङ आउँदा होस् उसको घरमा बास हँुदैन । च्याब्रुङको पारखी वीरध्वजलाई च्याब्रुङ बजाएर नाचिहिंड्दै ठीक हुन्छ । तर जब दिदी जारी तिर्न नसकेर धरौटी स्वरुप नोकर्नी हुन गएको कुरा थाहा पाएपछि उसमा एक्कासी परिवर्तन आउछ । आप्mनो काम नगर्ने बानीको परिणम यो भइरहेको हो भनी पछुतो मान्छ र कोइलाखात नै ठिक पैसा कमाउन जाने निर्णय गर्छ । बाटो खर्चका लागि च्याब्रुङ बेच्ने क्रममा उसलाई युक्तेबुढाले च्याब्रुङ बनाएर बेचेमा पैसा कमाउन कही जानु नपर्ने उपाया सिकाउँछ । यसरी च्याब्रुङ बेचेर कमाएको पैसाले जारी तिरेर आप्mनो दिदी हाङमालाई फिर्ता ल्याउन सफल हुन्छ ।

उता नामसाङ भने हाङमा बिना बाँच्न नसक्ने भइसकेको हुन्छ भने हाङमा पनि नामसाङसँग छुटिन नसक्ने भइसकेको हुन्छ । यसैले फेरि हाङमाको हात माग्न नामसाङ रित पूर्वक पुग्दछ । पहिले अपमान गरेको बदलामा वीरध्वजले पाहुनाहरुमाथि हातपात नै गर्न पुग्छ । यसैबेला परदेश गएको हाङमाको दोश्रो श्रीमान पनि जारी तिर्ने पैसा लिएर आइपुग्छ । हाङमा दोधार हुँदाहुँदै आपूmलाई पालममा जितेर लगेकाले फेरि लाने हो भने पालममा जितेरै लान नामसाङलाई चुनौति दिन्छ । हुन त नामसाङलाई ख्याली–पालम गाउन आउदैन तर आमाले समय समयमा गाएको ख्याली बसेर गाउन थाल्दा दोश्रो श्रीमान हारेर फर्कन्छ । त्यसपछि नामसाङको साथ लागेर हाङमा फर्किएसँगै चलचित्र अन्त्य हुन्छ ।

‘जारी’ चलचित्रका हरेक दृष्य र सम्वादहरु कथावस्तुलाई प्रष्ट र जीवन्त हुने गरी निर्देशक उपेन्द्र सुब्बाले अत्यन्तै मिहिनेत साथ तयार गरेको छ । चलचित्रमा आधुनिक जमानाका यान्त्रिक वस्तुहरु रेडियो, टि.भि., सवारीसाधन (साइकल, मोटरसाइकल, गाडी), टेलिफोन, मोवाइल, कम्प्युटर आदि जस्ता कुनै पनि वस्तुहरु देखाइएको वा प्रयोग गरिएको छैन भने विद्युतीय सामग्री त के कुपी बालिएको दृष्यले चलचित्र भरि दर्शकहरुलाई अर्कै संसार र समयमा अल्झाइ राख्न सफल भएको छ । फेरि भेट भएपछि प्रमुख नायक र नायिका बिच दोहोरो सम्वाद नै हुँदैन तर मौनताका बिच अभिनयकै भरले सुख–दुःख, दयामाया, प्रेमघृणा, क्रोध, आवेग, संवेग, आदिलाई देखाउन सक्ने निर्देशक र कलाकारहरुको क्षमताले अन्य चलचित्रहरु भन्दा ‘जारी’ले छुट्टै स्वाद र सन्तुष्टि दिन सफल भएको छ । झगडा हँुदा हाङमाले नामसाङ आपैmलाई हिर्काउदा लागेको भित्ताको कमेरे माटोको टाटो (दाग) अन्त्यतिर नामसाङ आपैmले मेटाउदै गरेको दृष्य अति संवेदनशील पाराले देखाइएको छ । हुन त लिम्बू समुदायको आँखाले हेर्दा त्यस्तो नदेखिएला तै पनि चलचित्रमा प्रयोग भएका अश्लिल मानिएका शब्दहरु अन्य समुदायका दर्शकहरुलाई नपच्नका साथै लिम्बू जातिमा अश्लिल शब्दको प्रयोग बारे भ्रम छर्न मद्दत पुगेको पाइन्छ । लिम्बू इतर नायक र नायिकाहरुको बोलीमा मंगलसिंको जस्तो थोरै लिम्बू लवज मिसाउन सके सुनमा सुगन्ध हुने थियो । हाङमाको दिदीबहिनी बिचमा हुने माया प्रेमलाई देखाउने क्रममा दिदीलाई ‘आन्ने’ भनी सम्बोधन गरेको शब्द लिम्बू भाषा नबुभ्mने दर्शकहरुलाई दाँतमा ढुँङ्गा परे जस्तो भान हुन्छ । मद्यपान र धुम्रपान सेवन गरेको दृष्य अलि धेरै भएको जस्तो लाग्छ भने दोस्रो श्रीमानले लगनको बेला पछ्यउरीमा बाँधिदिएको ढकी पैसा फिर्ता गरेको दृष्य नहँुदा ‘युप्पालुङ–याङ’ को अर्थ फिक्का भएको भान हुन्छ ।

कथाबस्तु सरल र सहज पाराले बगेसँगै चलचित्र युनिटको मिहिनेत र कलाकारहरुको जीवन्त अभिनयले ‘जारी’लाई उत्कृष्ट चलचित्रको स्थानमा पुर्याएको छ । कलाकारहरुको कुरा गर्ने हो भने नामसाङ (दयाहाङ राई) र हाङमा (निरुमा मगर) कै निम्ति उपेन्द्र सुब्बाले जारी चलचित्रको कथा लेखेको जस्तो लाग्दछ । वीरध्वज (अनिल सुब्बा), मंगलसिं (विजय बराल), शेरबहादुर (प्रेम सुब्बा) आदि पात्रहरुले आ–आप्mनो स्थानबाट आपूmले पाएको जिम्मेवारी अत्यन्तै इमान्दारीका साथ निर्वाह गरेकाछन् । त्यस्तै अन्य भूमिकामा देखिएका नामसाङको आमा, हाङमाको बुबा(आमा र बहिनी, नुमा, बखते, युक्तेबुढा आदि … कलाकारहरुले पनि जारी चलचित्रलाई माथि उठाउन दिएको योगदान विर्सि नसक्नु रहेको छ ।

विभिन्न जातजातिको संकृति र सभ्यतालाई केन्द्रमा राखेर निर्माण गरिएका आप्mनै भाषा वा नेपाली भाषाका धेरै चलचित्रहरु निर्माण भई बजारमा आइसकेका छन् । ती सबै चलचित्रहरुको आ–आप्mनो ठाउँमा उत्तिकै महत्व र प्रभाव रहेको छ । तै नेपाली माटोको सुगन्ध बोकेर, नेपाली संकृति र सभ्यतालाई प्रतिनिधित्व गर्दै मूलधारको चलचित्र क्षेत्रमा नै प्रत्यक्ष उपस्थिति देखाउन सक्ने चलचित्रका रुपमा उदाहरण नै बनिएको कुरा ‘जारी’ले बजारमा पारेको प्रभाव बुझे प्रष्ट हुन्छ । यसैले भोलि आउने चलचित्रको इतिहासमा एउटा सफल चलचित्रको रुपमा ‘जारी’लाई उभिन सक्ने बनाउन अहोरात्र मिहिनेत गर्ने ‘जारी’ चलचित्र परिवारलाई स्यावासी दिनै पर्छ ।